काठमाडौं। सरकार परिवर्तन भयो, बजेट आयो, मौद्रिक नीति पनि सार्वजनिक भयो। तर, लगानीकर्ताले अपेक्षा गरेको उत्साह सेयर बजारमा देखिएन। नेप्से परिसूचक ६ महिनायताकै न्यून विन्दुमा झरेपछि बजारमा निराशा बढेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६०० अंकमा झर्दै पछिल्लो ६ महिनाकै न्यून स्तरमा पुगेको छ। नयाँ सरकार गठन, सेयर बजारमैत्री बजेट र मौद्रिक नीति आए पनि त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको छैन।
बालेन शाह नेतृत्वको सरकार गठनअघि करिब २९५० अंकमा रहेको नेप्से अहिले करिब ३५० अंकले घटिसकेको छ। बजेटमा पुँजीगत लाभकरलाई अन्तिम कर बनाउने, नेप्से पुनर्संरचना गर्ने तथा गैरआवासीय नेपाली ९एनआरएन०लाई बजारमा आकर्षित गर्ने जस्ता व्यवस्था गरिए पनि लगानीकर्ताको विश्वास फर्किन सकेको छैन।
यता, राष्ट्र बैंकको मौद्रिक नीतिले पनि बजारलाई ऊर्जा दिन सकेन। सेयर धितो कर्जामा कडाइ गर्ने संकेत, असार मसान्तको सेटलमेन्ट दबाब र ठूला लगानीकर्ताको ‘पर्ख र हेर’ रणनीतिका कारण बजार लगातार ओरालो लागेको विश्लेषण गरिएको छ।
बजार विश्लेषकहरूका अनुसार अहिले लगानीकर्ताको ध्यान आगामी नियामकीय सुधार र धितोपत्र बोर्डका निर्णयतर्फ केन्द्रित छ। त्यतिन्जेलसम्म सेयर बजारमा उल्लेखनीय सुधार देखिने सम्भावना कम रहेको उनीहरूको भनाइ छ।






































