काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद इन्दिरा राना मगरले झापाको रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीय बासिन्दा, विशेषगरी विद्यार्थी, जोखिमपूर्ण रूपमा खोला तरेर विद्यालय जान बाध्य भएको बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले झापा–२ अन्तर्गत कजुवे–रातेखाल क्षेत्रमा हालै आएको बाढीले समस्या थप जटिल बनाएको उल्लेख गरिन् । तीन वर्षअघि नै बजेट विनियोजन भए पनि पुल निर्माण हुन नसकेको र स्थानीयले २० लाख रुपैयाँ संकलन गरेर निर्माणको प्रयास गर्दा पनि मापदण्ड नपुगेको भन्दै काम अघि बढ्न नसकेको उनको भनाइ थियो ।

उनले भनिन्, ‘ मेरो झापा क्षेत्र नम्बर २ मा चाहिँ कजुवे, रातेखालमा अस्ति मात्रै बाढी आइराछ । त्यहाँ पहिला बजेट परेको, तीन वर्ष अगाडि बजेट परेको त्यो नबनेर अहिले फेरि स्थानीयहरुले २० लाख उठाएर त्यहाँ बनाउने कोसिस गर्दा पनि त्यसमा चाहिँ मापदण्ड नपुगेर त्यो पुल त्यत्तिकै थियो। र त्यसमा चाहिँ धेरै वटा बच्चाहरु त्यो क्रस गरेर स्कुल जाँदा मृत्यु भएको छ। अस्ति पनि म भिजिट गर्ने बित्तिकै त्यहाँ एकजना १० वर्षको बालक साइकलसँगै नदीमा खसेर हामीले रेस्क्यु गर्यौँ, त्यही दिन नै म जानुभन्दा अलिकति अगाडि। म पूर्वाधार मन्त्री ज्यूलाई, मन्त्रालयलाई चाहिँ ध्यानाकर्षण गराउन चाहन्छु त्यो चाहिँ पुल बनाउनु पर्यो ।’

राना मगरले पुल नहुँदा खोला तरेर विद्यालय जाने क्रममा धेरै बालबालिकाले ज्यान गुमाइसकेको दाबी गरिन् । आफू स्थलगत अवलोकनमा पुगेकै दिन १० वर्षीय एक बालक साइकलसहित नदीमा खसेको र स्थानीयको सहयोगमा उद्धार गरिएको घटना पनि उनले सदनमा सुनाइन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउँदै जेनतेन गरेर भए पनि उक्त क्षेत्रमा तत्काल पुल निर्माण गर्न आग्रह गरिन् ।

त्यसैगरी, उनले गणेश नेपालीको मृत्युप्रति दुःख व्यक्त गर्दै भविष्यमा कुनै पनि नेपाली नागरिक आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य नहुने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।