वीरगञ्ज— सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण र सुरक्षा व्यवस्थाको प्रभावकारिता मूल्याङ्कन गर्न गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकामा कुनै पूर्वसूचना नदिई आकस्मिक अनुगमन गरेका छन्।

पहिचान गोप्य राख्न उनले कालो टोपी, फेस मास्क र सनग्लासको प्रयोग गरेका थिए। यस क्रममा उनी पर्साको जगन्नाथपुर गाउँपालिकास्थित जानकी टोला, ड्राइपोर्ट तथा बाराको कलैया उपमहानगरपालिका–१० अन्तर्गत पर्ने मटियार्वा नाका पुगेका थिए।

अनुगमनका क्रममा मन्त्री गुरुङले सुरक्षाकर्मीलाई जानकारी नदिई स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका थिए। स्थानीयले विशेषगरी रातिको समयमा साइकलमार्फत हुने तस्करी बढ्दो रहेको र त्यसप्रति सुरक्षा निकाय प्रभावकारी रूपमा सक्रिय नदेखिएको गुनासो गरेका थिए।

गृहमन्त्रीले सीमा नाकाको निरीक्षण सम्पन्न गरी सिमरा विमानस्थल पुगेपछि मात्रै बारा र पर्साका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूलाई उनको भ्रमणबारे जानकारी भएको थियो। त्यसपछि विमानस्थलमै आयोजित बैठकमा मन्त्री गुरुङले सीमा क्षेत्रमा हुने तस्करी, अवैध पैठारी तथा राजस्व चुहावट रोक्न कडा रूपमा काम गर्न निर्देशन दिएका छन्।

उनले सीमा सुरक्षामा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने स्पष्ट पार्दै तस्करीमा सेटिङ गर्ने वा जिम्मेवारी पूरा नगर्ने सुरक्षाकर्मीमाथि तत्काल कानुनी कारबाही गरिने चेतावनी समेत दिएका छन्।