विराटनगर— सुनसरीको सोनापुरस्थित अरिहन्त मल्टिफाइबर्स लिमिटेडकी सञ्चालक अश्विनी गोल्छा उच्च रोजगारी सिर्जना, सामाजिक सुरक्षा तथा निकासी व्यापारमा योगदान पुर्याएको भन्दै सम्मानित भएकी छन्।
उद्योग संगठन मोरङको ५३औँ वार्षिक साधारण सभामा उनलाई सम्मान गरिएको हो। यसअघि पनि सरकारले सामाजिक सुरक्षा दिवस २०८२ का अवसरमा उद्योगले श्रम, रोजगार र सामाजिक सुरक्षामा उल्लेखनीय योगदान दिएको भन्दै सम्मान गरेको थियो।
अश्विनी नेतृत्वको अरिहन्त मल्टिफाइबर्सले ४,२०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ, जसमा आधाभन्दा बढी महिला छन्। उद्योगले वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढी मूल्यका जुटजन्य उत्पादन भारत निर्यात गर्दै आएको छ। उनीकै नेतृत्वमा सञ्चालित रघुपति जुट मिलले थप २,२०० जनालाई रोजगारी दिँदै वार्षिक करिब २.५ अर्ब रुपैयाँ बराबरका उत्पादन निकासी गर्दै आएको छ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले गोल्छा परिवारको औद्योगिक योगदानको प्रशंसा गर्दै महिला नेतृत्वमा उद्योग सञ्चालन र उच्च निकासी अन्य उद्योगीका लागि प्रेरणादायी भएको बताए।
अश्विनी गोल्छाले उद्योग सञ्चालनलाई पारिवारिक विरासतका रूपमा ग्रहण गर्दै रोजगारी, महिला सशक्तीकरण र श्रमिकमैत्री वातावरणलाई प्राथमिकता दिँदै आएको बताइन्। उनका अनुसार उद्योगले स्थानीय महिलाको आर्थिक सशक्तीकरण र समावेशी औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।






































