काठमाडौं— भारतले नेपाली चियाको निर्यातमा नयाँ मापदण्ड लागू गरेपछि बन्द भएका झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। सरकारबाट समस्या समाधानका लागि पहल हुने प्रतिबद्धता आएपछि उद्योगीहरूले उद्योग खोल्ने निर्णय गरेका हुन्।
प्रधानमन्त्रीको सचिवालयले चिया निर्यातमा देखिएको अवरोध समाधान गर्न उच्चस्तरीय कार्यदल गठन गरिने जानकारी दिएपछि उद्योगीहरू सकारात्मक बनेका छन्। उद्योगीहरूले सरकारले समस्या समाधानतर्फ ठोस कदम चाल्ने विश्वास व्यक्त गर्दै बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याएका हुन्। हाल झापाका ३० वटा सीटीसी चिया उद्योग सञ्चालनमा फर्किएका छन्।
भारतको चिया बोर्डले गुणस्तर परीक्षणका लागि नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) लागू गरेपछि नेपाली चियाको निर्यात प्रभावित भएको थियो। निर्यातमा अवरोध आएपछि उद्योगहरू बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको उद्योगीहरूको भनाइ छ।
सरकारले निर्यात अवरोध हटाउन तथा चिया उद्योगका तत्कालीन, मध्यकालीन र दीर्घकालीन समस्या समाधानका लागि विशेष कार्यदल गठन गरेर आवश्यक पहल गर्ने जनाएको छ। यससँगै चिया उद्योगमा आबद्ध किसान, मजदुर र व्यवसायीले राहतको अनुभूति गरेका छन्।




































