काठमाडौं । देशका ११ जिल्लामा बर्ड फ्लु संक्रमण फैलिएपछि कुखुरापालन क्षेत्र संकटमा परेको छ। संक्रमण नियन्त्रणका लागि हालसम्म ५ लाख ६९ हजारभन्दा बढी कुखुरा, करिब १० लाख अण्डा र ठूलो परिमाणमा दाना नष्ट गरिएको छ। पशु सेवा विभागका अनुसार झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमण पुष्टि भएको छ। प्रयोगशालामा गरिएको परीक्षणबाट एच–फाइभ एन–वान, एच–नाइन एन–टु तथा न्युक्यासल रोगका भाइरस सक्रिय रहेको पाइएको छ।

संक्रमण फैलिएसँगै उपभोक्तामा कुखुराको मासु र अण्डा सेवनबारे अन्योल बढेको छ। तर विभागका पशु चिकित्सक डा। मुकुल उपाध्यायका अनुसार राम्ररी पकाइएको कुखुराको मासु वा उमालेको अण्डाबाट बर्ड फ्लु सरेको प्रमाण विश्वमै छैन। संक्रमित कुखुरा बजारसम्म पुग्न नदिइने भएकाले उपभोक्ताले अनावश्यक त्रास मान्न नपर्ने उनको भनाइ छ। संक्रमण नियन्त्रणका लागि सरकारले संक्रमित फार्मका सम्पूर्ण कुखुरा नष्ट गर्ने, परीक्षणको दायरा विस्तार गर्ने, सीमा नाकामा निगरानी बढाउने तथा कुखुरा, अण्डा र दानाको ओसारपसारमा कडाइ गर्ने काम गरिरहेको जनाएको छ।

यस्तै, अवैध पशुपन्छी बिक्री–वितरण रोक्न सुरक्षा निकायसँगको सहकार्यमा विशेष अभियान सञ्चालन गरिएको छ। विभागले किसानलाई बायोसेक्युरिटीका उपाय कडाइका साथ लागू गर्न, मरेका कुखुरा खुला स्थानमा नफाल्न र कुनै अस्वाभाविक घटना देखिए तत्काल जानकारी दिन आग्रह गरेको छ।

विज्ञहरूका अनुसार बर्ड फ्लु नियन्त्रणका लागि सरकारी प्रयाससँगै किसान र सर्वसाधारणको सचेतना पनि उत्तिकै आवश्यक छ। हल्ला र त्रासभन्दा वैज्ञानिक तथ्यमा आधारित जानकारीलाई विश्वास गर्दै सावधानी अपनाउन उनीहरूले आग्रह गरेका छन्।