काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीमा नेतृत्व परिवर्तनको क्रम फेरि चर्चामा आएको छ। कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकेशकुमार कपुरले जिम्मेवारी सम्हालेको एक सातामै राजीनामा दिएका छन्।
पाँच वर्षदेखि कम्पनीमा कार्यरत कपुरले असार २ गते कामु सीईओको जिम्मेवारी पाएका थिए। तर असार ८ गते नै उनले पदबाट राजीनामा दिएपछि पुनर्बीमा क्षेत्रमै चासो बढेको छ।
यसअघि कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएपछि कपुरलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो। तर नयाँ जिम्मेवारी सम्हालेको केही दिनमै उनको बहिर्गमनले कम्पनीको नेतृत्व फेरि अन्योलमा परेको छ।
राजीनामाको आधिकारिक कारण कम्पनीले सार्वजनिक नगरे पनि स्रोतहरूका अनुसार कपुरविरुद्ध समेत सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेको र बयानका लागि बोलाइएपछि उनले पद त्यागेको चर्चा छ।
उपासनापछि कपुर पनि विवादको घेरामा आएपछि हिमालयन रिइन्स्योरेन्सको नेतृत्व, सुशासन र संस्थागत व्यवस्थापनबारे प्रश्न उठ्न थालेका छन्। विशेषगरी वित्तीय क्षेत्रको संवेदनशील संस्थामा छोटो अवधिमै भएका यस्ता घटनाक्रमले लगानीकर्ता र सेयरधनीको चासो बढाएको छ।
हाल कम्पनीले नयाँ नेतृत्व व्यवस्थापनको तयारी गरिरहेको बताइए पनि राजीनामापछिको अवस्था र अनुसन्धानको विषयमा आधिकारिक धारणा सार्वजनिक भएको छैन।






































