काठमाडौं । एभरेष्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ बिहीबार बाँडफाँट गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो । यस बराबरको कुल निष्काशन रकम ६ करोड ५५ लाख ७० हजार रुपैयाँ रहेको थियो । आईपीओमा २६ लाख ८७ हजार ४२१ जना लगानीकर्ताले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

तीमध्ये २६ लाख ४१ हजार ९५९ वटा आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन् । मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा प्रणालीमार्फत शेयर बाँडफाँट गरिएको हो । बाँडफाँट परिणामअनुसार ६५ हजार ५७० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।

उच्च आवेदनका कारण अधिकांश आवेदक भने यसपटक पनि शेयर प्राप्त गर्नबाट वञ्चित भएका छन् ।