काठमाडौं— उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक नियम मिच्नेलाई ५० हजार रूपैयाँसम्म जरिवाना हुनुपर्ने प्रस्ताव गरेका छन् । सङ्घीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा ‘सार्वजनिक सवारी र ढुवानी व्यवस्थापन’ सम्बन्धी प्रस्तुतिका क्रममा काफ्लेले हालको ५ सयदेखि १५ सय रूपैयाँसम्म जरिवाना पर्याप्त नभएको भन्दै ३३ गुणासम्म बढाउन प्रस्ताव गरेका हुन् ।

हाल ट्राफिक नियम उल्लंघन गर्दा ५ सय देखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना हुने गरेको छ । यसलाई निकै न्यून रहेको बताउँदै एसएसपी काफ्लेले भने, ‘अहिलेको जरिवानाले कसैलाई डर भएन । नियम उल्लंघन गर्नेलाई ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था आवश्यक छ ।’

जरिवाना बढाउँदा मात्रै चालकहरूमा नियम पालना गर्ने मनोवैज्ञानिक दबाब सिर्जना हुने उनको तर्क छ । एसएसपी काफ्लेले ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरिवाना रकममा भारी वृद्धिको प्रस्ताव गरेका हुन् ।

उनले काठमाडौं उपत्यकाको विद्यमान ट्राफिक प्रणालीमा तत्काल आमूल सुधार नगरे आगामी दुई वर्षभित्र सडकमा हिँड्न समेत नसकिने भयावह अवस्था आउने चेतावनी दिएका छन् ।