कोशी। कोशी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधार बनाउने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यो रकम पर्यटकीय पूर्वाधार निर्माण, नयाँ गन्तव्यको प्रवर्द्धन र पर्यटन प्रचारप्रसारमा खर्च गरिने प्रदेश सरकारले जनाएको छ । प्रदेशले यसअघि घोषणा गरेको पर्यटन वर्ष कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दुई वर्षलाई पनि ‘भ्रमण वर्ष’का रूपमा मनाउने निर्णय गरेको छ ।
सरकारले पर्यटनमा गरिएको लगानीले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने, स्थानीय रोजगारी सिर्जना गर्ने र प्रदेशको अर्थतन्त्रलाई थप चलायमान बनाउने अपेक्षा लिएको छ । पर्यटनलाई प्रदेशको आर्थिक समृद्धिसँग जोड्दै कोशी सरकारले आगामी वर्षहरूमा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने संकेत दिएको छ ।




































