लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै विकास निर्माण, कृषि उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको बताएका छन् ।

यस वर्षको बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा करिब डेढ अर्ब रुपैयाँले घटेको छ । कुल बजेटमध्ये २२ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी रकम पुँजीगत अर्थात् विकास खर्चका लागि छुट्याइएको छ भने ११ अर्ब ११ करोड रुपैयाँ चालु खर्चका लागि विनियोजन गरिएको छ ।

प्रदेश सरकारले पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सेवाको सुधार तथा आर्थिक उत्पादन बढाउने योजनामा विशेष जोड दिएको जनाएको छ । बजेटमार्फत रोजगारी सिर्जना र प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य समेत लिइएको छ ।

घटेको आकारको बजेट भए पनि सरकारले विकासमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै सीमित स्रोतबाट बढी प्रतिफल दिने योजनामा लगानी केन्द्रित गर्ने रणनीति अघि सारेको छ ।