काठमाडौं । आउँदो महिनाका लागि पछिल्लो महिनाको असार मसान्तभित्रै ब्याजदर प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकको नियमअनुसार २० वटै वाणिज्य बैंकले आइतबार नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकले पुरानै दर कायम राखे पनि केही बैंकले निक्षेपको ब्याजदर थप घटाएका छन्।
नयाँ दरअनुसार एनआईसी एसिया, एनएमबी, प्राइम कमर्सियल, हिमालयन र स्ट्यान्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूमा निक्षेप बढ्दो क्रममा रहे पनि लगानीको अवसर कम हुँदा ब्याजदर घटाउने दबाब परेको देखिएको छ।
हाल बैंकिङ प्रणालीमा ८० खर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन भएको छ। तर कर्जा लगानी भने करिब ५९ खर्ब रुपैयाँमा सीमित छ। यसले ठूलो रकम बैंककै भल्टमा थन्किने अवस्था सिर्जना गरेको छ।
असार महिनाका लागि सबैभन्दा बढी ब्याजदर राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकले ४ दशमलव ७५ प्रतिशत प्रस्ताव गरेका छन्। प्रभु बैंक र नविल बैंकले ४ दशमलव ५५ प्रतिशत ब्याज दिने भएका छन्।
बाँकी अधिकांश बैंकले ४ दशमलव ५ प्रतिशतभन्दा कम वा सोही हाराहारीमा ब्याजदर कायम गरेका छन्। यसले बैंकमा पैसा राख्ने निक्षेपकर्ताको आम्दानी थप खुम्चिने संकेत देखिएको छ।
ब्याजदर लगातार घट्दै जाँदा बचतकर्ताभन्दा ऋण लिनेहरू भने केही राहतको अपेक्षामा रहेको देखिन्छ ।





































