काठमाडौं— ग्लोबल आइएमई बैंक लिमिटेडले सञ्चालक समितिको रिक्त स्वतन्त्र महिला सञ्चालक पदमा पूर्वसचिव बिन्द्रा हाडा भट्टराईलाई नियुक्त गरेको छ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ। नियुक्तिपछि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजित विशेष कार्यक्रममा उनलाई सञ्चालक समितिमा स्वागत गरेका छन्।

भट्टराई सार्वजनिक प्रशासन, सुशासन तथा विकास व्यवस्थापन क्षेत्रमा साढे तीन दशकभन्दा बढी अनुभव भएकी प्रशासक हुन्। उनले नेपाल सरकारका विभिन्न महत्वपूर्ण निकायमा जिम्मेवारी सम्हालेकी छन्।

उनले सिँचाइ मन्त्रालय, नेपाल ट्रस्टको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न पदमा रही कार्यअनुभव हासिल गरेकी छन्।

बैंकले उनको अनुभव र नेतृत्वले संस्थागत सुशासन तथा रणनीतिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।