काठमाडौं । सवारी नियम उल्लंघन गर्ने चालकविरुद्ध ट्राफिक प्रहरीले निगरानी कडा बनाउँदा पछिल्लो २४ घण्टामा दुई हजारभन्दा बढी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार एकैदिन २ हजार २ सय २३ चालकलाई विभिन्न ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाही गरिएको हो। यसबाट राज्यकोषमा १८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९४ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १५० जना, ट्राफिक बत्ती उल्लंघन गर्ने १७७ जना र तीव्र गतिमा सवारी चलाउने ११८ जना रहेका छन्। यस्तै लेन अनुशासन नमानेका ६१ जना, अनावश्यक हर्न बजाउने १५४ जना, सडक पेटीमा पार्किङ गर्ने ९८ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १२० जनामाथि पनि कारबाही गरिएको छ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित अनुगमन र चेकजाँचलाई अझ प्रभावकारी बनाइने जनाएको छ।




































