काठमाडौं— बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य नगद) उच्च स्तरमा कायम रहेपछि नेपाल राष्ट्र बैंकले फेरि एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
मौद्रिक प्रशासन विभागका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा आवश्यकताभन्दा बढी रकम थुप्रिँदै गएपछि बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न निक्षेप संकलनको प्रक्रिया अघि बढाइएको हो।
यसअघि पनि राष्ट्र बैंकले महिनाको २७औँ दिन २३ दिन अवधिका लागि ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको थियो। तर, बैंकिङ प्रणालीमा अझै पनि ठूलो परिमाणमा तरलता बाँकी रहेकाले पुनः एक खर्ब रुपैयाँ तान्ने निर्णय गरिएको हो।
हाल बैंक तथा वित्तीय संस्थाहरूसँग करिब ११ खर्ब रुपैयाँ बराबरको परिनियोजनयोग्य पूँजी (तरलता) रहेको अनुमान छ। ऋणको माग अपेक्षाअनुसार नबढेकाले लामो समयदेखि अतिरिक्त तरलताको अवस्था कायम रहेको छ। यही अवस्थालाई सन्तुलनमा राख्न केन्द्रीय बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत बजारबाट रकम व्यवस्थापन गर्दै आएको छ।





































