काठमाडौं ।  मध्यपूर्वमा जारी तनाव अब केवल युद्धको मैदानमा सीमित छैन, यसको असर विश्व अर्थतन्त्रसम्म पुग्न थालेको छ। विश्व बैङ्कले इरान–अमेरिका द्वन्द्वका कारण विश्व अर्थतन्त्र कोभिड महामारीपछिकै सबैभन्दा कमजोर अवस्थामा पुग्न सक्ने चेतावनी दिएको छ। ऊर्जा संकट, महँगी र आर्थिक सुस्तताले विश्वलाई नयाँ चुनौतीतर्फ धकेल्न सक्ने संकेत देखिएको छ। 

इरान र अमेरिकाबीचको तनावले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न थालेको भन्दै विश्व बैङ्कले चिन्ता व्यक्त गरेको छ। विश्व बैङ्कले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार मध्यपूर्वको द्वन्द्वका कारण विश्व आर्थिक वृद्धिदरमा ठूलो दबाब परेको छ। सन् २०२६ का लागि गरिएको आर्थिक वृद्धिको अनुमानसमेत घटाइएको छ।प्रतिवेदनमा ऊर्जा मूल्य लगातार बढ्दै जानु, महँगी नियन्त्रण बाहिर जाने जोखिम बढ्नु र ऋणको लागत महँगिँदै जानुलाई प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ।

विशेषगरी होर्मुज जलडमरू क्षेत्रमा देखिएको अवरोधले विश्व ऊर्जा आपूर्ति प्रणालीमा प्रत्यक्ष असर पारेको बताइएको छ। विश्वको ठूलो हिस्सा तेल तथा ग्यास यही मार्ग हुँदै ढुवानी हुने भएकाले त्यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा तरंग सिर्जना गरेको छ। यसको प्रभाव स्वरूप कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढ्ने प्रक्षेपण गरिएको छ। तेलसँगै मलखादको मूल्यसमेत महँगिने अनुमान गरिएको छ, जसले विश्वभर खाद्यान्न उत्पादन र उपभोक्ता बजारमा थप दबाब सिर्जना गर्न सक्छ।

विश्व बैङ्कका अनुसार यदि द्वन्द्व अझै चर्कियो र ऊर्जा आपूर्तिमा थप अवरोध आयो भने विश्व अर्थतन्त्रको वृद्धि दर झन् खुम्चिन सक्छ। त्यस्तो अवस्थामा महँगीको दर थप उकालो लाग्ने र आर्थिक गतिविधि सुस्त बन्ने जोखिम रहनेछ।यता अमेरिका र इरानबीच घोषणा गरिएको युद्धविराम पनि पूर्ण रूपमा स्थिर नभएको विश्व बैङ्कको निष्कर्ष छ। तनाव पुनः बढ्न सक्ने सम्भावना कायमै रहेकाले विश्व बजार अझै अनिश्चितताको घेरामा रहेको प्रतिवेदनले औँल्याएको छ।

कोभिड महामारीबाट विस्तारै तंग्रिँदै गएको विश्व अर्थतन्त्रलाई अब मध्यपूर्वको द्वन्द्वले नयाँ झट्का दिन सक्ने संकेत देखिएको छ। युद्धको धुवाँ केवल रणभूमिमा मात्रै होइन, विश्वभरका बजार, उद्योग र सर्वसाधारणको भान्सासम्म पुग्न सक्ने चेतावनी विश्व बैङ्कले दिएको छ।