काठमाडौं— सिरहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट वाच नष्ट गरिएको घटनालाई लिएर सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले परीक्षा केन्द्रमा भेटिएका मोबाइल वा अन्य विद्युतीय उपकरण जफत गरेर नष्ट नगर्न तथा त्यस्ता कार्य तत्काल रोक्न गृहमन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको हो।

यस विषयमा अधिवक्ता अनिलकुमार साहलगायतले सर्वोच्च अदालतमा रिट दायर गर्दै जफत गरिएका मोबाइल कानुनी प्रक्रिया पूरा नगरी नष्ट गरिएको दाबी गरेका थिए। रिटमा परीक्षा समाप्त भएपछि जरिवाना वा अभिभावकको उपस्थितिमा मोबाइल फिर्ता गर्नुपर्ने व्यवस्था विपरीत स्वेच्छाचारी रूपमा नष्ट गरिएको उल्लेख गरिएको छ।

सर्वोच्च अदालतले विपक्षी पक्षसँग लिखित जवाफ समेत माग गरेको छ।

गत चैतमा सम्पन्न एसईई परीक्षाका क्रममा सिरहाका विभिन्न परीक्षा केन्द्रबाट ५ सयभन्दा बढी आइफोन, एन्ड्रोइड मोबाइल तथा स्मार्ट वाच जफत गरिएको थियो। त्यसपछि जिल्ला परीक्षा समन्वय समिति सिरहाको निर्णय र मधेश प्रदेशका शिक्षामन्त्रीको घोषणाअनुसार प्रहरीले पानी भरिएको ड्रममा डुबाएर ती उपकरण नष्ट गरेको भिडियो सार्वजनिक भएको थियो, जसको व्यापक आलोचना भएको छ।

रिट निवेदकहरूले जफत गरिएका मोबाइल तथा स्मार्ट वाचको बजार मूल्य र त्यसमा रहेको व्यक्तिगत डेटाको क्षतिलाई आधार मानी प्रभावित विद्यार्थी र अभिभावकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेका छन्।