काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेर तीन लाख रुपैयाँभन्दा माथि पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको हो।

मूल्य वृद्धिसँगै छापावाल सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यही सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँले बढेर चार हजार ९२५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो।

लगातार बढिरहेको सुनको मूल्यका कारण गहना खरिद गर्ने सर्वसाधारण तथा व्यवसायी दुवै प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिएको व्यवसायीहरूको भनाइ छ।