काठमाडौं— प्रधानमन्त्री बालेन निकट मानिएका शाखा अधिकृत संजीव नेपालविरुद्ध गम्भीर आर्थिक अनियमितता, अकुत सम्पत्ति आर्जन तथा कर्मचारी सरुवामा आर्थिक चलखेल गरेको आरोपसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक उजुरी दर्ता भएको छ।
दर्ता गरिएको उजुरीमा संजीव नेपालले अध्यागमन विभागमा कार्यरत रहँदा भिजिट भिसा प्रकरणसँग सम्बन्धित विभिन्न ट्राभल एजेन्सीहरूसँग आर्थिक लेनदेन गरी गैरकानुनी लाभ लिएको र त्यसैबाट ठूलो सम्पत्ति जोडेको आरोप लगाइएको छ। उजुरीकर्ताले उनको सम्पूर्ण आर्थिक गतिविधि, आयस्रोत तथा सम्पत्तिमाथि निष्पक्ष र विस्तृत छानबिन हुनुपर्ने माग गरेका छन्।
उजुरीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रभाव र पहुँच प्रयोग गर्दै कर्मचारी सरुवा तथा पदस्थापनामा आर्थिक चलखेल गरेको दाबी गरिएको छ। रकम उपलब्ध गराउने कर्मचारीलाई आकर्षक कार्यालयमा पठाउने र आर्थिक लेनदेन नगर्ने कर्मचारीलाई दुर्गम तथा कम आकर्षक स्थानमा सरुवा गराउने कार्यमा उनी संलग्न रहेको आरोपसमेत लगाइएको छ।
त्यसैगरी अध्यागमन विभागमा रहँदा भिजिट भिसा व्यवस्थापनका नाममा ठूलो रकम असुली गरी अकुत सम्पत्ति आर्जन गरेको दाबी उजुरीमा गरिएको छ। २०७५ साल फागुन ३० गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजपत्रांकित तृतीय श्रेणीको अधिकृतका रूपमा सरुवा भएयता हालसम्म काठमाडौं उपत्यकाबाहिर नपठाइनु पनि शंकास्पद विषय भएको भन्दै त्यसको समेत अनुसन्धान गर्न माग गरिएको छ।
उजुरीकर्ताले संजीव नेपाल तथा उनका परिवारको नाममा रहेको चलअचल सम्पत्ति, बैंक खाता, लगानी, व्यवसायिक सम्बन्ध, आर्थिक कारोबार र आयस्रोतको विस्तृत छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
उजुरीमा पछिल्लो समय नायब सुब्बा ९नासु० सरुवाका क्रममा समेत आर्थिक चलखेल भएको आरोप उल्लेख गरिएको छ। यद्यपि, यी आरोपहरू उजुरीकर्ताको दाबीमा आधारित भएकाले सम्बन्धित निकायबाट अनुसन्धान र पुष्टि हुन बाँकी रहेको छ।






































