विराटनगर— नेपाल राष्ट्र बैंक र नेपाल प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा ‘सम्पत्ति शुद्धीकरण, आतंककारी वित्तीय लगानी तथा आमविनाशका हातहतियार निर्माण–विस्तारमा वित्तीय लगानीसम्बन्धी अपराध अनुसन्धान अनुशिक्षण तालिम’ विराटनगरमा सुरु भएको छ।

तालिमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल को प्रमुख आतिथ्य तथा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको विशेष आतिथ्यमा भएको हो।

उद्घाटन समारोहमा गभर्नर पौडेलले वित्तीय प्रणालीमा पारदर्शिता, सुशासन र आर्थिक स्थायित्व कायम राख्न सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी नियन्त्रण महत्वपूर्ण रहेको बताए। उनले सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, सूचना आदानप्रदान र दक्ष जनशक्ति उत्पादनमार्फत वित्तीय अपराधका नयाँ चुनौतीहरूको सामना गर्न तालिम उपयोगी हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले वित्तीय अपराधको स्वरूप दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै यस्ता अपराधको अनुसन्धानका लागि प्राविधिक ज्ञान, अनुसन्धान सीप र अन्तरनिकाय समन्वय अपरिहार्य रहेको बताए। उनले हुण्डी कारोबार, संगठित अपराध, मानव बेचबिखन, लागूऔषध ओसारपसार, ठगी तथा अवैध आम्दानीसँग सम्बन्धित अपराधको अनुसन्धानमा नेपाल प्रहरीले वित्तीय विश्लेषण, प्रमाण संकलन र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी रूपमा अघि बढाइरहेको जानकारी दिए।

पाँच कार्यदिनसम्म सञ्चालन हुने उक्त तालिममा कोशी प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने प्रहरी इकाइका अनुसन्धान शाखामा कार्यरत २४ जना जुनियर प्रहरी अधिकृत सहभागी छन्। तालिममा सम्पत्ति शुद्धीकरण, आतंककारी वित्तीय लगानी, वित्तीय अपराध अनुसन्धान, कानुनी व्यवस्था, जोखिम पहिचान तथा अनुसन्धान प्रविधिसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ।