काठमाडौँ । बजेट भाषण पछाडी लगातार बढिरहेको सुनको मूल्यमा सोमबार सामान्य करेक्सन देखिएको छ। अघिल्लो दिन एकैपटक ठूलो वृद्धि भएको सुनको भाउ आज प्रतितोला २०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यही सुनको मूल्य ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको थियो।
सुनको मूल्यमा सामान्य गिरावट आए पनि चाँदीको भाउ भने उकालो लागेको छ। आइतबार प्रतितोला ५ हजार ३ सय ४५ रुपैयाँ रहेको चाँदी सोमबार १० रुपैयाँ बढेर ५ हजार ३ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५ सय २१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेका बेला नेपाली बजारमा पनि मूल्यमा उतारचढाव जारी रहेको देखिएको छ। पछिल्ला दिनमा सुनले नयाँ कीर्तिमानी मूल्य कायम गरिरहेकाले लगानीकर्ता र उपभोक्ता दुवैले बजारको चाललाई नजिकबाट नियालिरहेका छन्।





































