काठमार्डौ— सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य नरेन्द्र साहले संसदमा उखु किसानहरूले भोगिरहेका समस्याबारे आवाज उठाएका छन।
सर्लाहीसहित तराई क्षेत्रमा मुख्य नगदे बालीका रूपमा चिनिने उखु अहिले किसानका लागि “उधारो बाली” बन्दै गएको भन्दै उनले किसानका समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराए। किसानहरूले समयमा उखुको भुक्तानी नपाउनुका साथै सरकारले घोषणा गरेको अनुदान रकमसमेत अझै प्राप्त गर्न नसकेको अवस्था अत्यन्त दुःखद रहेको उनले बताए।
उनले आर्थिक वर्ष २०८१/०८२ को बाँकी प्रति क्विन्टल रु. ३५ अनुदान तथा चालु आर्थिक वर्ष २०८२/०८३ को प्रति क्विन्टल रु। ७० अनुदान रकम अविलम्ब किसानलाई उपलब्ध गराउन माग गरे। साथै, उधारोमा उखु खरिद गरेर किसानलाई समयमै भुक्तानी नगर्ने चिनी उद्योगहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए।
कृषि क्षेत्रमा बढ्दो लागतका बीच पेट्रोल–डिजेलको मूल्य बढ्दा यातायात भाडा तुरुन्त समायोजन हुने तर किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउने अवस्था अन्यायपूर्ण भएको धारणा पनि उनले राखे। बर्खे धानझैँ मकै, उखु लगायतका कृषि उपजको न्यूनतम खरिद मूल्य उत्पादनअघि नै तोक्ने व्यवस्था गर्न सके किसान आत्मनिर्भर र सुरक्षित बन्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, किसानहरूले मलखाद अभावका कारण भोग्दै आएको समस्यालाई ध्यानमा राख्दै सहज र समयमै मलखाद आपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराए।





































