काठमाडौं— चालु आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च रहने प्रारम्भिक अनुमान गरिएको छ भने मधेश प्रदेशको आर्थिक वृद्धि सबैभन्दा न्यून रहने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार सार्वजनिक गरेको ‘प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमान’ सम्बन्धी प्रेस नोटअनुसार बागमती प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलव ४० प्रतिशत पुग्ने अनुमान गरिएको हो ।

कार्यालयका अनुसार गण्डकी प्रदेश ५ दशमलव शून्य १ प्रतिशत आर्थिक वृद्धिदरसहित दोस्रो स्थानमा रहनेछ । सबैभन्दा कम आर्थिक वृद्धि मधेश प्रदेशमा हुने अनुमान गरिएको छ । मधेशको आर्थिक वृद्धिदर १ दशमलव ३१ प्रतिशत मात्रै रहने तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धि ३ दशमलव २८ प्रतिशत, कोशी प्रदेशको ३ दशमलव १३ प्रतिशत, कर्णाली प्रदेशको २ दशमलव ९४ प्रतिशत तथा लुम्बिनी प्रदेशको २ दशमलव ८७ प्रतिशत रहने अनुमान गरिएको छ ।

तथ्यांक कार्यालयका अनुसार स्थिर मूल्यमा मापन गरिएको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वार्षिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । यस आधारमा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धि राष्ट्रिय औसतभन्दा माथि रहने देखिएको हो ।

सार्वजनिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल अर्थतन्त्र करिब ६१ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । त्यसमध्ये बागमती प्रदेशको योगदान सबैभन्दा बढी रहेको छ ।

बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन २२ खर्ब रुपैयाँभन्दा माथि पुगेको देखिएको छ । त्यसपछि कोशी, लुम्बिनी र मधेश प्रदेशको अर्थतन्त्र क्रमशः ठूलो देखिएको छ । गण्डकी प्रदेश मध्यम आकारको अर्थतन्त्र भएको प्रदेशका रूपमा रहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशको अर्थतन्त्र तुलनात्मक रूपमा सानो रहेको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार कर्णाली प्रदेश नेपालको सबैभन्दा सानो अर्थतन्त्र भएको प्रदेशका रूपमा रहेको छ । यद्यपि, पछिल्ला वर्षहरूमा कर्णालीमा आर्थिक गतिविधिमा क्रमिक सुधार देखिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार प्रदेशगत आर्थिक आकार निर्धारणमा उद्योग, सेवा, कृषि उत्पादन, जनसंख्या तथा शहरीकरणको अवस्थाले मुख्य प्रभाव पार्ने गरेको छ । राजधानी काठमाडौं उपत्यका लगायत प्रमुख आर्थिक केन्द्र बागमती प्रदेशमा केन्द्रित भएकाले यसको अर्थतन्त्र अन्य प्रदेशको तुलनामा निकै ठूलो रहेको उल्लेख गरिएको छ ।