काठमाडौं— नेपाल सरकारले आर्थिक वर्ष २०९२/९३ सम्म एलपी ग्यासमा दिँदै आएको अनुदान हटाएर विद्युतीय चुल्हो प्रयोगलाई प्रोत्साहन गर्ने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको “ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३” मा यस्तो योजना अघि सारिएको हो।
रणनीतिअनुसार सरकारले खाना पकाउन प्रयोग हुने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै लैजाने र त्यसको विकल्पका रूपमा विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने लक्ष्य राखेको छ। मन्त्रालयका अनुसार स्वच्छ ऊर्जा प्रवर्द्धन गर्दै विद्युत् खपत बढाउने उद्देश्यले यो योजना ल्याइएको हो।
नेपालमा प्रत्येक वर्ष ग्यास आयातमा ठूलो रकम बाहिरिने गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामै रु ४१ अर्ब ६५ करोड बराबरको खाना पकाउने ग्यास आयात गरिएको छ। यस अवधिमा करिब ४१ लाख मेट्रिक टन ग्यास भित्रिएको विभागले जनाएको छ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा रु ६२ अर्ब ५८ करोड बराबरको ५५ लाख मेट्रिक टन ग्यास आयात भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा पनि करिब रु ५५ अर्ब बराबरको ग्यास विदेशबाट ल्याइएको थियो।
सरकारले बढ्दो ग्यास आयातले विदेशी मुद्रा बाहिरिएको निष्कर्ष निकाल्दै अब घरेलु विद्युत् उपयोग बढाएर ऊर्जा आत्मनिर्भरता हासिल गर्ने रणनीति अघि सारेको जनाएको छ।






































