काठमाडौं—  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

कर्णाली प्रदेशस्तको प्रथम अगुवा कार्यकर्ता भेलामा सहभागी हुन सुर्खेत पुगेका उनले विशेष सहुलियत घोषणा गरेर मूल्य वृद्धि फिर्ता लिनुपर्ने बताए । छिमेकी भारतले इन्धनमा मूल्यवृद्धि नगरेको तर्क गर्दै उनले नेपालमा पनि नबढाउन सकिने विकल्पबारे सोच्न सुझाए । ‘नजिकको छिमेकी भारतले पनि इन्धनमा मूल्य वृद्धि गरेको छैन’, उनले भने, ‘सरकारले नागरिकमाथि मूल्य वृद्धिको भार घटाउनुपर्छ ।’

अर्का एक प्रसंगमा उनले बालेन्द्र शाह नेतृत्वको दुई तिहाइ नजिकको सरकारलाई काम गर्न दिइनुपर्ने र त्यसमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए । चुनावी सरकारमा मन्त्रीको भूमिकामा रहेको र हतारमा चुनावमा जानुपरेकाले गत निर्वाचनमा पार्टीले हारे ब्यहोरेको दाबी उनको थियो । आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टी ठूलो दलका रुपमा स्पाथित हुने जिकिर घिसिङले गरे ।