झापा— नेपाल पर्यटन बोर्ड र पर्यटन कार्यालय काकडभिट्टाको संयुक्त आयोजनामा कोशी प्रदेशको झापामा भएको ‘क्रस बोर्डर टुरिजम् कन्क्लेभ झापा २०२६’ को तेस्रो संस्करणमा सीमापार पर्यटनको प्रवद्र्धन, नीतिगत सुधार र नेपाल–भारत सहकार्यलाई थप सुदृढ बनाउन जोड दिइएको छ ।

शुक्रबार झापाको होटल मेची क्राउनमा भएको कार्यक्रममा वक्ताहरुले पर्यटन विस्तारका लागि व्यवहारिक सुधार, पूर्वाधार विकास र संयुक्त बजार प्रवर्द्धनमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले सीमापार पर्यटनले प्रदेशको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । उनले भने, ‘आजको यस सीमापार पर्यटन कन्क्लेभमार्फत् कोशी प्रदेशलाई थप प्रवद्र्धन गर्न योगदान पुगेको छ । तर दुःखको कुरा के छ भने सरकारले कोशी भ्रमण वर्षका लागि छुट्याएको बजेट समेत कार्यान्वयन गर्न सकेका छैनौं ।’

उनले झापालाई पर्यटन हबका रूपमा विकास गर्न सेवामा सुधार, आकर्षक प्याकेज र नीतिगत सुधार आवश्यक रहेको बताए । उनले भने, ‘हामीले पर्यटकलाई दुःख दिने, हैरानी गराउने र हेर्ने दृष्टिकोण बदल्न सकेमा पर्यटक आगमन संख्या बढाउन सकिन्छ,’उनले भने ।

नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले यस कन्क्लेभको निरन्तरताले पर्यटन विकेन्द्रीकरणमा सहयोग पुगेको बताए । ‘तेस्रो संस्करणमा आइपुग्दा हामी उत्साहित छौं । काठमाडौं केन्द्रित पर्यटनलाई बाहिर ल्याउन हामीले यस्तो कार्यक्रम गरिरहेका छौं,’ उनले भने । बोर्डका निमित्त निर्देशक शर्माले सीमापार पर्यटनलाई राष्ट्रिय योजना आयोगका योजनामा समावेश गर्न पहल गरिनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

अध्यागमन कार्यालय काकडभिट्टाका प्रमुख तुलसी भट्टराईले नाकामा सहजीकरणका लागि अध्यागमन कार्यालय सधैं तयार रहेको जानकारी गराएका छन् । ‘हामीले भारतको अध्यागमन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सेवा दिइरहेका छौं,’ उनले भने । उनका अनुसार फागुन महिनामा मात्र १ हजार ५ विदेशी पर्यटक काकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका छन् ।

‘साउनदेखि फागुनसम्म ६ हजार ७९१ विदेशी पाहुना भित्रिएका छन्, र यो वर्ष ९ हजार पुग्ने अपेक्षा हामीले गरेका छौं,’ उनले भने । भट्टराईले भारतीय पर्यटन व्यवसायीलाई नेपाल भ्रमणका लागि विदेशी पर्यटक पठाउनसमेत आग्रह गरेका छन्।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सीमापार पर्यटनलाई सरोकारवाला निकायले ढिलो बुझेको उल्लेख गर्दै सहकार्यको महत्त्वमा जोड दिए । ‘सीमापार पर्यटनलाई हामीले ढिलो बुझ्यौं, त्यसैले आज हामी अझै सीमापार पर्यटनका आयामबारे सिकिरहेका छौं । सहकार्य र समन्वयबिना पर्यटन विकास सम्भव छैन,’ उनले भने ।

उनले भारतीय पर्यटक नेपालको प्रमुख स्रोत बजार भएको उल्लेख गर्दै थपे, ‘नेपालमा भारतीय पर्यटन ३० लाखभन्दा बढी आउँछ, तर खुला सिमानाका कारण यसको औपचारिक तथ्यांक छैन ।’ थपलियाले सीमापार पर्यटन विकासका लागि हाम्रो व्यवहार पर्यटनमैत्री हुनुपर्ने पनि बताएका छन् । उनले थपे, ‘चाहे आवागमनमा होस्, चाहे चेकजाँचमा वा सेवामा, हामीले सुधार गर्न सकेनौं भने पर्यटन विकासमा हामी अझै पछि पर्नेछौं ।’ थपलियाले कोशी प्रदेशसहित काठमाडौं बाहिरका गन्तव्यहरूको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

हिमालय हस्पिटालिटी एण्ड टुरिज्म डेभलपमेन्ट नेटवर्क ९एचएचटीडीएन० का महासचिव सम्राट सन्ज्यालले नेपाल–भारत संयुक्त रूपमा पर्यटन उत्पादन विकास गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् । उनले भने, ‘पछिल्लो १० वर्षको पर्यटन गतिविधि हेर्दा नेपाल र भारतलाई संयुक्तरुपमा अन्तर्राष्ट्रिय मञ्‍चहरुमा प्रबद्र्धन गरिएको देखिँदैन । तर, सीमापार पर्यटन कन्क्लेभ मात्रै एउटा यस्तो प्लेटफर्म हो, जहाँ नेपाल र भारतलाई संयुक्तरुपमा प्रबद्र्धन गरिएको छ ।’

उनले सीमामा आवागमनलाई थप सहज बनाउन र नीतिगत अवरोध हटाउन दुवै देशले सहकार्य गर्नुपर्ने बताए । ‘यो समय भनेको एकताको समय हो र यसका लागि हामीले सँगसँगै दुबै देशका नीति निर्मातालाई दुबै देशको पर्यटन प्रबद्र्धनात्मक नीति निर्माणका लागि दबाब सिर्जना गर्नुपर्छ,’ उनले थपे ।

नेपाल उद्योग वाणिज्य महासंघ ९कोशी प्रदेश० का अध्यक्ष ऋषिराज तिमिल्सिनाले सीमापार पर्यटन कन्क्लेभले क्षेत्रीय पर्यटन विकासमा सकारात्मक प्रभाव पारेको बताए । ‘विगत तीन वर्षदेखि आयोजना भइरहेको यो कन्क्लेभले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने । उनले पर्यटकको बसाइ लम्ब्याउन नयाँ प्याकेज आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रको लगानी बढ्दै गएको समेत जानकारी गराए ।

कार्यक्रममा बिहार, सिक्किम र पश्‍चिम बंगाल ९भारत० र कोशी प्रदेश ९नेपाल० का पर्यटन सम्भावनाबारे भिडियो प्रस्तुतीकरण गरिएको थियो । यसका साथै ‘सीमापार पर्यटनः अवसर र चुनौती’ शीर्षकमा आयोजित अन्तक्र्रियामा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, एचएचटीडीएनका महासचिव सम्राट सन्ज्याल तथा पर्यटन व्यवसायी केसरी गुरुङलगायत विज्ञहरूले सीमापार पर्यटनका संरचनागत, नीतिगत र पूर्वाधारगत पक्षमा छलफल गरेका थिए । छलफलका क्रममा निर्माणाधीन एसियन हाइवे नेटवर्कलाई क्षेत्रीय कनेक्टिभिटी विस्तार गर्ने ‘गेमचेन्जर’ पूर्वाधारका रूपमा व्याख्या गर्दै यसको प्रभावकारी उपयोगले नेपाल–भारत पर्यटन प्रवाहमा गुणात्मक वृद्धि ल्याउने विश्वास व्यक्त गरिएको छ ।

अन्तक्र्रियामा वक्ताहरूले सीमापार आवागमनलाई सहज बनाउन कर तथा शुल्क तिर्ने प्रक्रियालाई एकद्वार प्रणालीमार्फत् सरलीकरण गर्नुपर्ने, सीमामा हुने विभिन्‍न जाँच प्रक्रिया व्यवस्थित गर्नुपर्ने तथा सेवा प्रवाहमा एकरूपता कायम गर्नुपर्नेमा जोड दिए । साथै, नेपालको सडक सञ्जाल विस्तार, गुणस्तरीय पूर्वाधार विकास, डिजिटल प्रणालीको प्रयोग र पर्यटकमैत्री व्यवहार सुधारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिएको थियो ।

कन्क्लेभका क्रममा पर्यटन सञ्जाल झापा र भारतको एचएचटीडीएनबीच दुवै देशका पर्यटकीय गन्तव्यको प्रवद्र्धन तथा दिगो पर्यटन विकासका लागि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको छ ।

उक्त समझदारीपत्रमार्फत् क्षेत्रीय पर्यटन प्रवद्र्धन, सीमापार पर्यटन विस्तार, अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन तथा नीतिगत सुधारका लागि आ–आफ्नो मुलुकमा पहल गर्ने सहमति भएको छ ।

कार्यक्रममा भारतबाट ६० पर्यटन व्यवसायीको सहभागीता रहेको थियो । यसका साथै कार्यक्रममा कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरुको फोटो प्रदर्शनीसमेत गरिएको थियो ।