काठमाडौं— नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि आवेदन दिने कम्पनीहरूको वित्तीय विवरण लेखा विशेषज्ञमार्फत पुनरवलोकन गर्ने व्यवस्था लागू गरेको छ ।
बोर्डले ‘वित्तीय विवरण पुनरवलोकनसम्बन्धी मापदण्ड, २०८२’ जारी गर्दै आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउने जनाएको हो । कम्पनीहरूको वित्तीय विवरणलाई पारदर्शी र तथ्यपरक बनाउन यस्तो व्यवस्था गरिएको बोर्डले स्पष्ट पारेको छ । नयाँ मापदण्डअनुसार आईपीओका लागि आवेदन दिने कम्पनीहरूको वित्तीय प्रतिवेदनमा असामान्य अवस्था देखिएमा अनिवार्य पुनरवलोकन गरिनेछ ।
सामान्य मापदण्डअन्तर्गत विगत तीन आर्थिक वर्षको लेखापरीक्षण, पछिल्लो वर्षको वित्तीय विवरण तथा अन्तरिम विवरणहरू परीक्षण गरिनेछ । विक्री आम्दानीको ठूलो हिस्सा व्यापारिक प्राप्यमा देखिनु, कर दायित्व समायोजन गर्दा वित्तीय मापदण्ड नपुग्नु वा सम्बद्ध पक्षसँग उच्च कारोबार भएमा पनि पुनरवलोकन हुनेछ ।
यसका साथै उत्पादन, होटल, जलविद्युत् र लगानी कम्पनीका लागि क्षेत्रगत मापदण्डसमेत तोकिएको छ । वित्तीय सूचकहरूमा अस्वाभाविक उतारचढाव, ब्याज खर्चमा ठूलो अन्तर वा सम्बद्ध व्यक्तिसँग उच्च कारोबार देखिएमा पनि जाँच गरिनेछ । बोर्डले पुनरवलोकन गर्ने लेखा विशेषज्ञका लागि न्यूनतम योग्यता र अनुभवसमेत निर्धारण गरेको छ । यस व्यवस्थाले आईपीओ प्रक्रिया थप विश्वसनीय र पारदर्शी हुने अपेक्षा गरिएको छ ।




































