काठमाडौं— कम्पनी रजिष्ट्रारको कार्यालयले कार्यालय परिसरमा हुने बिचौलियाको प्रभाव नियन्त्रण गर्न कडा कदम चालेको छ। कार्यालयले असम्बन्धित व्यक्तिको प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउँदै सेवा प्रवाहलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गर्ने नीति अघि सारेको हो।

कार्यालयले जारी गरेको सूचनाअनुसार कम्पनी स्थापना, प्रशासन र खारेजीसम्बन्धी सम्पूर्ण सेवा अब कम्पनी एडमिनिष्टर एण्ड म्यानेजमेन्ट इनफरमेसन सिस्टम (सी.ए.एम.आई.एस) मार्फत सञ्चालन हुनेछ। यस प्रणालीअन्तर्गत प्रत्येक कम्पनीका लागि छुट्टै डिजिटल खाता व्यवस्था गरिनेछ, जसले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त गर्ने विश्वास गरिएको छ।

सेवाको समयसीमा पनि स्पष्ट गरिएको छ। कम्पनी नाम दर्ता र नयाँ दर्तासम्बन्धी काम एक कार्यदिनभित्र, दर्तापछिका प्रशासनिक काम तीन कार्यदिनभित्र तथा खारेजीसम्बन्धी प्रक्रिया पाँच कार्यदिनभित्र सम्पन्न गर्ने लक्ष्य कार्यालयले राखेको छ।

कार्यालयका अनुसार अनलाइन प्रणालीबाट सञ्चालन हुने सेवाका लागि सेवाग्राही आफैं उपस्थित हुनुपर्ने आवश्यकता रहने छैन। अनलाइन सेवा बाहेकका काममा मात्रै सम्बन्धित व्यक्ति वा आधिकारिक प्रतिनिधिलाई प्रवेश दिइने व्यवस्था गरिएको छ।

यो निर्णयसँगै कार्यालय परिसरमा वर्षौंदेखि सक्रिय बिचौलिया समूहलाई ठूलो झट्का लागेको छ। अब अनधिकृत व्यक्तिको प्रवेश बन्द भएपछि कम्पनी प्रशासनसम्बन्धी सेवा थप पारदर्शी, छरितो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।