रुपन्देही— रुपन्देहीमा सहकारीमार्फत सदस्यलाई मासिक पेन्सन दिने नयाँ अभ्यास सुरु गरिएको छ। बुटवलस्थित सशक्त बचत तथा सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई लक्षित गर्दै पेन्सन वितरण योजना लागू गरेको हो।

सोमबार आयोजित कार्यक्रममा सहकारीले पहिलोपटक ६० वर्षीय सदस्य रामप्रसाद न्यौपानेलाई मासिक १ हजार रुपैयाँ पेन्सन प्रदान गर्दै योजना औपचारिक रूपमा सुरु गर्‍यो। सहकारीका अध्यक्ष महेशप्रसाद पोखरेलले सदस्यलाई सामाजिक सुरक्षासँग जोड्ने उद्देश्यले यस्तो योजना ल्याइएको जानकारी दिए।

यो योजनाअन्तर्गत २० देखि ६० वर्ष उमेर समूहका सदस्य सहभागी हुन सक्नेछन्। सहकारीले निश्चित रकम बचत गर्ने सदस्यलाई मासिक १ हजारदेखि ५ हजार रुपैयाँसम्म पेन्सन दिने व्यवस्था गरेको छ। जसअनुसार १ लाख २६ हजार ५ सय रुपैयाँ बचत गर्नेले १ हजार, २ लाख ५३ हजार बचत गर्नेले २ हजार, ३ लाख ७९ हजार ५ सय बचत गर्नेले ३ हजार, ५ लाख ६ हजार बचत गर्नेले ४ हजार र ६ लाख ३२ हजार ५ सय बचत गर्नेले ५ हजार रुपैयाँ मासिक पेन्सन पाउनेछन्।

अध्यक्ष पोखरेलका अनुसार सदस्यले जम्मा गरेको रकम पेन्सन लिँदा कम नहुने गरी योजना तयार गरिएको छ। उनले दीर्घकालीन हितलाई ध्यानमा राख्दै यस्तो कार्यक्रम ल्याइएको पनि बताए।

हाल करिब १९ करोड रुपैयाँ पूँजी रहेको यस सहकारीमा ९ सयभन्दा बढी सदस्य आबद्ध छन्। सहकारीले आगामी दिनमा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम थप विस्तार गर्ने योजना बनाएको छ।