काठमाडौं— साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । बुधबारको कारोबारमा सामान्य करेक्सन देखिएको नेप्से यस दिन ९.२३ अंकले बढेको हो ।

सामान्य वृद्धि भएको नेप्से आज २ हजार ७१४.६१ विन्दुमा पुगेर रोकिएको छ । यस दिन फ्लोट इण्डेक्स ०.६६ अंकले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंकले घटेका छन् ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि देखिएको छ । अघिल्लो दिन बुधबार ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३२ स्टकको ९४ हजार १७४ पटकको कारोबारमार्फत ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ ।

यसदिन एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९ प्रतिशतले उकालो लागेको छ । कारोबारमा आएका कम्पनीमध्ये कालिका पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ६।२५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बिहीबार ४० करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, मञ्जुश्री फाइनान्सको करिब ३६ करोड रुपैयाँ र एसवाई प्यानल नेपालको करिब ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये बिहीबार १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक २।३८ प्रतिशतले बढेको छ । साथै, विकास बैंक, होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । यता, व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक १।१५ प्रतिशतले घटेको छ ।