मुस्ताङ— हिमाली जिल्ला मुस्ताङमा चिसो बढेसँगै पर्यटक आगमनमा कमी देखिन थालेको छ। अत्याधित चिसो बढेसंगै घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या घटेको स्थानीय पर्यटन व्यवसायीहरूले बताएका छन्।
अघिल्ला महिनामा पर्यटकले भरिभराउ रहने लोमान्थाङ, जोमसोम, कागबेनी र मार्फाजस्ता प्रमुख गन्तव्य क्षेत्रमा हाल पर्यटकको उपस्थिति न्यून देखिएको छ। विशेषगरी हिमपात र अत्यधिक चिसोका कारण पदयात्रा तथा खुला गतिविधि प्रभावित हुँदा पर्यटकहरू अन्य गन्तव्यतर्फ आकर्षित भएको व्यवसायीहरूको भनाइ छ।
होटल तथा लज सञ्चालकका अनुसार चिसो मौसम सुरु भएसँगै बुकिङ रद्द हुने क्रम बढेको छ भने दैनिक आवागमन पनि घटेको छ। स्थानीय तहले भने मौसम अनुकूल नहुँदा घटेको पर्यटक संख्या वसन्त याममा पुनः बढ्ने अपेक्षा गरेको छ।
मुस्ताङको पर्यटन मुख्यतः मौसममा निर्भर रहेकाले जाडोयाममा पर्यटक घट्नु स्वाभाविक भएको जानकारहरू बताउँछन्। यद्यपि, हिउँदे पर्यटन प्रवर्द्धन गर्न सके चिसो मौसममै पनि पर्यटक भित्र्याउन सकिने उनीहरूको धारणा छ।






































