काठमाडौं— राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले आफ्नो चार वर्षे कार्यकाल पूरा भएको अवसरमा परिषदले गरेका काम, उपलब्धि र आगामी कार्यदिशा समेटिएको श्वेतपत्र सार्वजनिक गरेका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०७८ पौष २१ मा उपाध्यक्ष नियुक्त भएका बस्नेतले खुला प्रतिस्पर्धाबाट छनोट भई जिम्मेवारी सम्हालेका थिए । उनले सीमित स्रोत–साधनका बाबजुद युवालाई ‘भविष्यका कर्णधार मात्र होइन, वर्तमानका साझेदार’ बनाउने लक्ष्यसहित निरन्तर काम गरिएको बताए ।

श्वेतपत्रअनुसार परिषदले चार वर्षको अवधिमा राष्ट्रिय युवा नीति २०८२ जारी, ‘युवाहरूको देश’ राष्ट्रिय युवा गीत निर्माण, नामायोको संस्थापक सदस्यका रूपमा अन्तर्राष्ट्रिय भूमिका तथा १९ करोड रुपैयाँ बराबरको बिना धितो–बिना ब्याज युवा उद्यम कर्जा असुली जस्ता महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

यस्तै, परिषदले ३,५९५ युवालाई उद्यमशीलता तालिम, ५०० युवालाई नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास, १०,५९० युवालाई नमुना युवा संसद अभ्यास, २,१५० सीमान्तकृत युवालाई लोकसेवा तयारी कक्षा, तथा ५,००० स्वयंसेवक परिचालन गरेको जनाएको छ।

देशका विभिन्न प्रदेशमा युवा उद्यमशीलता सम्मेलन, वैज्ञानिक सम्मेलन, नवप्रवर्तन तथा इन्क्युवेसन कार्यक्रम, साथै दलित, अपाङ्गता भएका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, रिटर्नी युवा, घरेलु कामदार, स्वास्थ्यकर्मी र पथप्रदर्शक युवाका लागि विभिन्न सञ्जाल गठन गरी लक्षित कार्यक्रमहरू सञ्चालन गरिएको श्वेतपत्रमा उल्लेख छ ।

उपाध्यक्ष बस्नेतले आगामी दिनमा युथ भिजन –२०३५ जारी गर्न, ७५३ वटै पालिकामा स्थानीय युवा परिषद गठन, राष्ट्रिय युवा परिषद ऐन संशोधन, तथा युवा स्टार्टअप कार्यक्रम एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

कार्यकाल सफल बनाउन सहयोग गर्ने प्रधानमन्त्री, मन्त्री, सचिव, परिषद सदस्य, कर्मचारी, संयुक्त राष्ट्रसंघीय निकाय, विकास साझेदार संस्था तथा युवा अभियन्ताप्रति आभार व्यक्त गर्दै उनले ‘आगामी दिनमा परिषद अझ सशक्त, प्रभावकारी र नतिजामुखी बनोस्’ भन्ने अपेक्षा व्यक्त गरेका छन्।