काठमाडौं— नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७औँ स्थापना दिवसका अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने घोषणा गरेको छ। आसियान मुलुकलाई लक्षित गरी नेपाललाई दीर्घकालीन र उच्च सम्भावनायुक्त पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित यो पहल अघि सारिएको हो।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले सन् २०२६ लाई केन्द्रमा राखेर विशेष रणनीति सार्वजनिक गर्दै हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेको जानकारी दिए। उनले बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस, संस्कृति र समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपालको पहिचान सुदृढ बनाइने बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्यटन मन्त्री अनिल कुमार सिन्हा प्रमुख अतिथि र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ विशिष्ट अतिथि रहेका थिए।
सीईओ जोशीका अनुसार सन् २०२५ मा करिब ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३ प्रतिशतले बढी हो। यस अवधिमा ३१ टुरिजम मार्ट, १२ ब्रान्डिङ कार्यक्रम र २० भन्दा बढी माइस कार्यक्रम सम्पन्न भएका छन्।
पर्यटन बोर्डले सन् २०२६ लाई लक्षित गर्दै सात प्रमुख पर्यटन प्रवृत्ति पनि सार्वजनिक गरेको छ। साथै, २०२६–२०३५ रणनीतिक कार्ययोजनामार्फत डिजिटल प्रवर्द्धन, उच्च मूल्य पर्यटन र दिगो विकासमा केन्द्रित हुने जनाएको छ।






































