बाजुरा— सदरमुकाम मार्तडीमा पछिल्लो समय भौतिक संरचनाको निर्माण तिब्र हुन थालेपछि खेतियोग्य जमिन मासिँदै गएको छ। सदरमुकामको चारैतिर नयाँ भौतिक संरचनाको निर्माण कार्य धमाधम बढेसंगै यहाँको खेतियोग्य जमिन मासिदै गएको हो ।

पहिले वरपर सिंगो खेतीयोग्य जमिन खाली देखिने गरेकोमा अहिले चारैतिर भवनहरु भरिभराउ छन् । पहिले र अहिलेको सदरमुकामको अवस्थामा आकास पातलको फरक छ । खेतीयोग्य जमिनमा धमाधम संरचना निर्माण हुन थालेपछि खेती गर्ने खेतहरु पनि बिस्तारै मासिँदै गएका हुन् ।

खेतीयोग्य जमिन मासिन थालेपछि कृषि खेतीमा असर परेको हो। उत्पादन राम्रो हुने खेतीयोग्य जमिनमा धमाधम संरचना निर्माण हुन थालेपछि कृषिबाली उत्पादनमा समस्या भएको बडीमालिका नगरपालिका वडा.नम्बर ८ का स्थानीय धने थापाले बताए ।

राम्रो बालीनाली उत्पादन हुने जमिनमा संरचना निर्माण हुन थालेपछि खाद्य बालीनाली उत्पादनमा संकट आएको उनले जानकारी दिए ।

खाली रहेका ठाउँहरुमा कतै संस्थागत कतै ब्यक्तिगत घरहरु निर्माण हुन थालेका छन् । पहिले सदरमुकामको चारैतिर ठुलो मात्रामा खेती लगाएका खेतहरु देखिन्थे ।

तर बिस्तारै ती खेतहरु भौतिक संरचनाको रुपमा परिणत भएको अर्का स्थानीय गोरख थापाले बताए । तिब्र रुपमा भइरहेको भौतिक संरचना निर्माणको प्रत्यक्ष असर खेतीयोग्य जमिनमा परेको थापाले बताए ।

उनले भने, ‘केही वर्ष पहिलासम्म गहुँ, जौँ, धान, फल्ने खेतमा अहिले पक्की भवन बनेका छन् । हरियो खेतका फाँटमा ठुलाठुला घरहरु निर्माण भए । अव्यवस्थित रुपमा भएको विकासको असर खेतीयोग्य जमिनमा परेको छ ।’

केही दशक अघि अन्न उब्जाउ हुने खेतमा अहिले भौतिक संरचना निर्माण भएपछि खेतीयोग्य जमिन तिब्र रुपमा मासिएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । जनसङ्ख्याको आधारमा नयाँ घर बनाउनु, भौतिक पूर्वाधार निर्माण हुने क्रम बढ्नु, ब्यक्तिगत जग्गामा ठूला ठूला संरचना निर्माण हुनाले कृषियोग्य जमिन मासिदै गएको ज्ञान केन्द्र बाजुरा प्रमख जसीराम साहनीको भनाइ छ ।

कृषियोग्य जग्गालाई प्लटिङ गर्ने,खेत–खेतमा चौडा सडक पुर्याउने, धमाधम संरचना निर्माण गर्नेलगायत गतिविधिका कारणले खेतीयोग्य जमिन नष्ट भएको सरोकारवालाको बुझाई छ । मार्तडी बजारको वरिपरि रहेको खेतीयोग्य जमिन अहिले पुरै मासिएको छ ।

नौंवटै स्थानीय तहका नागरिक मार्तडीमा बसोबास गर्न थालेपछि बजार वरिपरि रहेको खेतीयोग्य जमिन मासिएको हो । सदरमुकाम हरेक सेवा सुविधा हुने भएकाले यहाँ बसोबास गर्ने नागरिकको संख्यामा समेत वृद्धि हुँदै गएको छ । पछिल्लो समय मार्तडी बजारको मुहार फेरिए पनि खेतीयोग्य जमिन मासिदाँ कृषि उत्पादनमा गिरावट आएको छ ।

सदरमुकाम मार्तडी जिल्लाको मुख्य व्यापारीक केन्द्र हो । माथिल्लो क्षेत्रका स्थानीय तह सगै छिमेकी जिल्ला हुम्ला, मुगु, जुम्लालगायत विभिन्न जिल्लामा खाद्यान्न बाली, अन्य सर–सामान जाने गर्छ । पछिल्ला केही वर्षयता सदमुकाम मात्र नभई सिङ्गो बाजुराको उर्वर भूमि धमाधम मासिँदै गएको छ ।

नौंवटै स्थानीय तहमा पहिलेको तुलनामा अहिले उत्पादन घटिरहेका बेला खेतीयोग्य जमिन थप मासिँदै जाँदा कृषि उत्पादनमा चुनौति थपिएको छ। बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिन छ । जसमा कुल खेतीयोग्य जमिन २८ हजार १३५ हेक्टर रहेको छ । यसमध्ये ५,२०० हेक्टर सिञ्चित र २०३० हेक्टर असिञ्चित पाखो खेतीको रूपमा प्रयोग छ ।