काठमाडौं— अरुण तेस्रो जलविद्युत परियोजनामा देखा परेका मुद्दाहरूलाई सम्बोधन गर्ने सहमति भएको छ । लगानी बोर्ड, विकासकर्ता कम्पनी एसएपिडिसी, जिल्ला समन्वय समिति, सम्बद्ध स्थानीय तह र जिल्ला विकास प्रशासन कार्यालयले आपसी समन्वयमा परियोजना विकास सम्झौताको प्रावधान समेतलाई विचार गरी परियोजनाबारे उठेका विभिन्न सवालहरुलाई सम्बोधन गर्ने निर्णय गरेका हुन् ।
सखुवासभा जिल्लाको खाँदवारिमा सरोबारवालाहरुसँग भएको छलफल र सुझावका आधारमा सो निर्णय भएको हो । त्यसै गरी परियोजना विकास सम्झौताको प्रावधान अन्तर्गत विकासकर्ताले स्थानीय लाभ साझेदारी योजना अन्तर्गत सञ्चालन गरेका कार्यक्रमहरुको सूची तयार पेश गर्ने छन् । भने, तिनको प्रभावकारिताका सम्बन्धमा परियोजना समन्वय समितिले अनुगमन गर्ने निर्णय भएको छ ।
बैठकमा सम्बद्ध स्थानीय तहसँग समेत समन्वयमा आयोजना समन्वय समितिले आगामी दिनमा स्थानीय लाभ साझेदारी योजना अन्तर्गत गरिनुपर्ने कार्यहरुको सूची तय गरी लगानी बोर्डको कार्यालयलाई सिफारिससहित लेखी पठाउने सहमति पनि भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, सङ्खुवासभा जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य र प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया लगायतको उपस्थिति थियो ।






































