काठमाडौं— कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्याउलेमा  जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको आक्रमणमा परी भीमदत्त नगरपलिका–१४ का ४५ वर्षीया धाना विष्टको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

हात्ती बस्तीमा पसेर विष्टको घर भत्काउने क्रममा ज्यान जोगाउन भाग्दै गरेको अवस्थामा उनलाई हात्तीले गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । विष्टको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

जङ्गली हात्ती गाउँ पसेर स्थानीयको घर भत्काउन लागेको खबरपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनी र झोलुङ्गे पुल प्रहरी पोष्टबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्यमा जुटेको प्रहरीले जनाएको छ ।