रौतहट— रौतहटको चन्द्रपुर नगरपालिका वडा न. ६ बेल्डिका किसानलाई दाना तथा घाँसको बिउ वितरण गरिएको छ । गुप्तेश्वर सहकारी संस्थामा आवद्ध शेयर धनी गाई भैंसी पालक किसानहरूलाई उत्पादनको लागि प्रोत्साहित गर्न दाना तथा घाँसको बिउ वितरण गरिएको हो । 

चन्द्रपुर नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सहदेव केसीले कृषकलाई दाना तथा घाँसको बिउ वितरण गर्दै दुध उत्पादनमा जोड दिन आग्रह गरे । पशुपालक कृषकको संख्या बढदै गएको भन्दै उनले वडा तथा पालिकाले समेत आवश्यक सहयोग गर्ने बताए ।

पशुमा देखिने विभिन्न रोगको खोप पालिकाको पशु शाखाको समन्वयमा वडा कार्यलयले समय समयमा दिँदै आएको उनको जिकिर छ । उत्पादित दुधको बजारीकरणमा कुनै समस्या नरहेको वडाध्यक्ष केसीले बताए । 

सहकारी संस्थामा आवद्ध भएका कारण गाई भैंसी किन्न सहुलियतमा कर्जा पाउनुका साथै दाना तथा घाँसको बिउ पाएकोमा किसानहरुले खुशी व्यक्त गरे । सहकारी संस्थामा आवद्ध करीब ५० जना सेयर धनी किसानलाई  दाना तथा घाँसको बिउ वितरण गरिएको गुप्तेश्वर सहकारी संस्थाले जनाएको छ ।