बाजुरा— बाजुरामा उत्पदित अर्गानिक मकैको माग बढ्दै गएको छ । पछिल्लो समय यहाँको नौंवटै स्थानीय तहमा उत्पादित मकैको माग देशका ठुला शहरमा बढ्न थालेको हो । 

बाजुराका अधिकाशं गाउँ बस्तीमा मकै खेती राम्रो उत्पादन हुने गरेको छ । मकै राम्रो उत्पादन भए पनि खेती भने जोगाउनै मुस्किल हुने गरेको छ । जङ्गली जनावर बाँदरका कारण मकै खेती सखाप हुदै आएको हो ।

मकै अन्य बालीहरु भन्दा धेरै खपत हुने बालीको रुपमा पर्छ । खच्चरहरुलाई दाना खुवाउनदेखि बिभिन्न परिकार, तेल, इन्धन, चिनी ,रक्सी बनाउन यसको प्रयोग गर्ने गरिन्छ ।

पहिले बाजुराका कृषकहरुले कमै मात्रामा खेती गर्थे । तर पछिल्लो समय मकैको महत्त्व, माग बढ्दै गएकोले अधिकाशं कृषकहरुले मकै बालीमा जोड दिंदै आएका छन् । 

पहिले धेरै खेती नगर्ने यहाँका किसानले पछिल्लो समय मकै खेतीमा जोड दिएको बडीमालिका नगरपालिका ७ का स्थानीय लोकराज पाध्यायले बताए । पछिल्लो समय अर्गानिक मकैको माग बढ्न थालेपछि मकै खेतीमा किसानको चासो बढेको पाध्यायको भनाइ छ ।

मकै खेतीको विस्तारमा जोड दिएपनि लगाएको बाली जोगाउन मुस्किल हुने गरेको पाध्यायले बताए । बाँदरको आतंकका कारण खेती जोगाउन अप्ठ्यारो हुने गरेको छ । बाँदरको आतंक नियन्त्रण गर्न सम्बन्धित निकायले बाँदर धपाउने मेसिन उपलब्ध गराएको खण्डमा सहज हुने यहाँका कृषकहरुको भनाइ छ । 

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यहाँको कुल जमिनको एक हजार ३५० हेक्टर जमिनमा मकै खेती गर्ने गरिन्छ । जसमा ५०.२५ मेट्रिक टन मकै उत्पादन हुने गरेको छ  । त्यस्तै १.५ मेट्रिक टन मकैको उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनी बताए । कृषि ज्ञान केन्द्र बाजुराले यहाँका कृषकहरुलाई उन्नत जातको मकै बीउ वितरण समेत गर्ने गरेको छ ।

उन्नत जातको मकैको बिउ वितरणले यहाँका कृषकहरुलाई मकै खेतीमा थप आकर्षित गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

मकैको खेती नेपालको सबै क्षेत्रमा गरिने भए पनि यसको ७०.४२ प्रतिशत क्षेत्रफलमध्ये पहाडी भागमा (समुद्री सतहदेखि ९००—१८०० मि. उचाइसम्म) रहने गरेको छ ।

मकै बाली नेपालको कुल खाद्यान्न उत्पादनमा करिव २४ प्रतिशत योगदान पु¥याउने धान पछिको दोस्रो महत्वपूर्ण खाद्य बालीको रुपमा परिचित छ  । मकैमा (प्रोटिन, कार्वोहाइड्रेट, भिटामिन ए, भिटामिन ई) प्रचुर मात्रामा उपलव्ध हुनुका साथै खाद्यान्नका लागी मात्र नभई घाँस, इन्धनका साथै पशु र कुखुरा, गधा, खच्चरको दानाका रुपमा प्रयोग गरिन्छ ।