हेटौंडा— मकवानपुर जिल्ला पशु सेवा कार्यालयले उल्लेख्य प्रगति गरेको दाबी गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका कार्यक्रम र उपलब्धिहरूले जिल्लालाई पशुपालन तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा उल्लेखनीय फड्को मारेको दाबी छ ।

कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरका अनुसार यस वर्षलाई ‘उत्पादन विस्तार र सेवा सुदृढीकरणको वर्ष’का रूपमा मनाइँदै विभिन्न किसानमुखी गतिविधिहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिएको दाबी कार्यालयको छ । 

कार्यालयले यस वर्ष पशुपन्छी नियमन, निरीक्षण र उद्धारका क्षेत्रमा विशेष ध्यान दिएको जनाएको छ । बजारमा बिक्री हुने मासु, कुखुरा, माछा तथा दुग्धजन्य उत्पादनको गुणस्तर सुनिश्चित गर्न १,५०० भन्दा बढी अनुगमन कार्य सम्पन्न गरेको जनाएको छ । 

उक्त क्रममा स्वास्थ्य मापदण्ड नपुरा गर्ने व्यवसायिक फर्महरूलाई सचेत गराइएको र ३६ वटा अवैध रूपमा ल्याइएका पशुहरू उद्धार गरी सुरक्षित स्थानमा पठाइएको प्रमुख ठाकुरले जानकारी दिए ।

गर्भाधानमा प्रगति

पशुपालन उत्पादन वृद्धि गर्ने उद्देश्यले कार्यालयले कृत्रिम गर्भाधान कार्यक्रमलाई प्राथमिकतामा राख्दै १५,००० भन्दा बढी गाई–भैंसीमा गर्भाधान सेवा प्रदान गरेको छ । तालिमप्राप्त प्राविधिकहरू गाउँगाउँमा खटाइएकाले सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको कार्यालयको भनाइ छ ।

प्रमुख ठाकुरका अनुसार, ‘हामी किसानको आम्दानी वृद्धिको मूल सूत्रलाई उत्पादन वृद्धि र गुणस्तर सुधारसँग जोडिरहेका छौं ।’

आत्मनिर्भरताको सवाल

दिगो पशुपालनको आधारका रूपमा घाँसखेती प्रवद्र्धन गर्न कार्यालयले यस वर्ष ३० हजारभन्दा बढी घाँसका बीउका प्याकेट वितरण गरेको छ ।

मनहरी, बकैया, राक्सिराङ र हेटौंडा उपमहानगरका किसानहरूले यस कार्यक्रमबाट प्रत्यक्ष लाभ लिएका छन् । किसान मनबहादुर लामाका अनुसार, ‘पहिले पशुका लागि दाना खरिद गर्न गाह्रो पथ्र्यो, अहिले आफ्नै बारीमा उत्पादन गर्न सक्ने भएकाले खर्च घटेको छ ।’

रोग नियन्त्रण र खोप अभियान

पशु स्वास्थ्य संरक्षणका लागि कार्यालयले खोरे रोग, रगतिलो रोग र एफएमडी नियन्त्रणमा विशेष अभियान सञ्चालन गर्दै करिब १ लाख ८० हजार खोप वितरण गरेको छ । स्थायी खोप शिविरसँगै मोबाइल टोलीमार्फत सेवा विस्तार गरिँदा पशु मृत्यु दरमा उल्लेखनीय कमी आएको कार्यालयको तथ्याङ्कले देखाउँछ । 

किसानलाई रोग पहिचान, प्राथमिक उपचार र आहार व्यवस्थापनसम्बन्धी तालिम पनि प्रदान गरिएको थियो । 

उत्पादन र आम्दानीमा वृद्धि

कार्यालयका तथ्याङ्कअनुसार, चालु वर्षमा दुग्ध उत्पादनमा १८ प्रतिशत, मासु उत्पादनमा १२ प्रतिशत, र अण्डा उत्पादनमा १५ प्रतिशत वृद्धि भएको छ । सुधारिएको जात, पोषिलो आहार र नियमित स्वास्थ्य परीक्षण यसको प्रमुख कारण रहेको दाबी छ । 

हेटौंडा, मनहरी, बकैया र मकवानपुरगढीमा व्यावसायिक डेरी फार्महरू विस्तार हुँदै जाँदा स्थानीय युवाहरूका लागि रोजगारीका अवसर पनि बढेका छन् । किसान रामकृष्ण थापाका अनुसार, ‘अब हामी आत्मनिर्भर हुँदै गएका छौं, प्राविधिकहरू नियमित आउँछन् र तुरुन्तै उपचार सेवा दिन्छन् ।’

सेवाको गुणस्तर वृद्धि गर्न कार्यालयले यस वर्ष २५ जना नयाँ पशु स्वास्थ्य प्राविधिक र सहायकहरू तालिमपश्चात् कार्यक्षेत्रमा पठाएको छ ।

जिल्ला समन्वय समिति, नगर तथा गाउँपालिकासँग सहकार्य गर्दै पशुपालन अनुदान, बीउ वितरण र रोग नियन्त्रण कार्यक्रमहरू एकीकृत रूपमा कार्यान्वयन गरिएका छन् ।

महिला र युवालाई पशुपालन व्यवसायमा प्रोत्साहन गर्न कार्यालयले ‘एक गाउँ, एक व्यवसायिक पशुपालक महिला’ अभियान सञ्चालन गर्दै ७० भन्दा बढी महिलालाई सहुलियत ऋण र तालिम उपलब्ध गराएको छ ।

त्यसैगरी, युवा पशुपालक उद्यम विकास कार्यक्रमअन्तर्गत ५० जना युवालाई फार्म व्यवस्थापन, दुग्ध प्रशोधन र बजार व्यवस्थापन तालिम दिइएको छ ।

चुनौती र आगामी योजना

दुर्गम क्षेत्रमा प्राविधिक सेवा पु¥याउन कठिनाइ, रोग परीक्षण प्रयोगशालाको अभाव, र निजी क्षेत्रसँग सहकार्य कमजोर हुनु कार्यालयका प्रमुख चुनौतीहरू छन् । 

तर प्रमुख ठाकुरका अनुसार, ‘आगामी वर्ष प्रत्येक स्थानीय तहमा पशु सेवा केन्द्र स्थापना र कृत्रिम गर्भाधान प्रयोगशालाको क्षमता विस्तार गर्ने योजना अघि बढाइएको छ ।’

मकवानपुर पशु सेवा कार्यालयको चालु वर्षको कार्यसम्पादन जिल्लाको कृषि तथा पशुपालन क्षेत्रमा उदाहरणीय मानिएको छ । किसानको आम्दानी वृद्धिदेखि रोग नियन्त्रण र उत्पादन विस्तारसम्मका उपलब्धिहरूले जिल्लालाई आत्मनिर्भर बनाउने प्रयासमा देखिन्छ । 

घाँसखेतीको विस्तार, खोप अभियानको सफलता, र कृत्रिम गर्भाधानको प्रभावकारीताले मकवानपुरलाई देशकै ‘मोडल पशुपालन जिल्ला’ बनाउने सम्भावना देखिएको छ ।