काठमाडौं – कैलाली कारागारमा गत शुक्रबार राति भएको झडपको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सचेतक रुपा शोशी चौधरीले कारागारमा भएको झडपको विषय संसद्मा उठाएकी हुन् ।
उनले सुरक्षा घेरामा रहने कारागारमा झडप हुने बेलासम्म प्रशासन किन मौन बस्यो भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न समेत सोधेकी छन् ।
उनले कारागार सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न समेत माग गरिन् । कैलाली कारागारमा शुक्रवार राति कैदीबन्दीको आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको थियो भने ४९ जना कैदीबन्दी घाइते भएका थिए ।
उनले कारागारमा सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न माग गरिन् । उनले झडपमा परी मृत्यु भएका भरत चौधरीको मृतात्माको शान्तिको कामना समेत गरिन् ।
‘यहि साउन २३ गते कैलालीको कारागारमा दुखद तर लज्जास्पद घटना भएको छ । कारागार भित्र दुईपक्षबिच झडप भइ एकजना भरत चौधरीको मृत्यु भएको छ भने सामान्य र गम्भीर गरी ५४ जना घाइते भएका छन् । म मृतक भरत चौधरी प्रति हार्दिक श्रदान्जली भन्न चाहान्छु । धाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्न चहान्छु । कारागार भित्र मानवअधिकार भन्ने कुरा हुन्छ कि हुँदैन कैलालीको कारागार १५० जना कैदी बन्दी रहने क्षमताको कारोबार हो । तर त्यहाँ ७०० भन्दा बढी कैदी रहेको समचार बाहिर आएको छ । यो केबल झडप मात्र होइन । कारागार प्रशासनको विफलता पनि हो । म गृहमन्त्रीलाई के भन्छु भने सुरक्षा निकाएको घेरामा रहने बन्दीहरु झडप गर्दा सम्म प्रशासन किन मौन बस्यो । उनीहरुको जीवनको ग्यारेन्टि हुने स्थिति भएन भने बाहिरका सर्वसाधरण जनताले आफ्नो जीवनको सुरक्षाको प्रत्याभुति कसरी गर्ने । यो घटनाको बारे निश्पक्ष छानबिन गर्न माग गर्दछु’ उनले भनिन् ।