जनकपुर — एभिन्युज टेलिभिजनका संवाददाता वैद्यनाथ यादवमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ।
महासंघका अनुसार साउन २१ गते सप्तरीको राजगढ गाउँपालिका, कमलपुरका ३७ वर्षीय लालु यादवको प्रहरीको गोली लागेर मृत्यु भएपछि भएको विरोध प्रदर्शनको समाचार संकलन गर्ने क्रममा संवाददाता यादवमाथि आक्रमण गरिएको हो।
नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले घटनालाई प्रेस स्वतन्त्रतामाथिको खुला हमला भन्दै कडा निन्दा गरेको छ। महासंघले आक्रमणमा संलग्न व्यक्तिहरूलाई छानबिन गरी कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रेस विरोधी यो आक्रमणको महासंघ निन्दा गर्दछ। साथै, घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ।”