काठमाडौं— मधेसमा नयाँ राजनीतिक मोर्चा गठनको तयारी सुरु भएको छ। सात दलीय संघीय लोकतान्त्रिक मोर्चा सक्रिय रहेको अवस्थामा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, र राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालबीच कार्यगत एकताको सम्भावनाबारे गम्भीर छलफल भइरहेको छ।
जसपाले लोसपा र रामुपासँग छुट्टाछुट्टै वार्ता अघि बढाइरहेको स्रोतले जनाएको छ। ती दलबीच प्रारम्भिक चरणका छलफल भइसकेका छन् भने कार्यगत एकता संयुक्त वा अलग–अलग रूपमा पनि हुन सक्ने सम्भावना रहेको बताइएको छ।
यसै सन्दर्भमा जसपाले आफ्नो कार्यकारिणी समिति बैठक बोलाएको छ। काठमाडौंको बालकुमारीस्थित पार्टी कार्यालयमा अपराह्न ३ बजे बस्ने बैठकको एजेन्डा कार्यगत एकता र मोर्चाबन्दीका विषयमा केन्द्रित रहने जनाइएको छ।
जसपाका महासचिव इस्तियाक राईका अनुसार लोसपा र रामुपासँग मात्र होइन, अन्य दलहरूसँग पनि छलफल भइरहेका छन्। “मुद्दा, विचार र एजेन्डा मिल्ने दलहरूसँग कार्यगत एकता गर्ने निर्णय जसपाले गरिसकेको छ,” उनले भने।
उनका अनुसार आजको बैठकमा अहिलेसम्म भएका छलफलहरू पेश गरिनेछ र आगामी रणनीतिबारे निर्णय लिइनेछ।
मधेसका ठूला दलहरूबीच हुने सम्भावित कार्यगत एकता वा मोर्चा गठबन्धनले आगामी राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने आँकलन गरिएको छ।