काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाम र चुनाव चिन्ह ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता गरिएको छ।

युवराज सफल नामक व्यक्तिले आफूलाई सामाजिक अभियन्ता भन्दै आयोगमा बिहीबार दिएको निवेदनमा पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारहरूको वैधानिक अधिकार र पहिचानमा असर पुगेको दाबी गरिएको छ।

निवेदनमा भनिएको छ, “पार्टी स्वतन्त्र हुन सक्दैन, पार्टीसँग आफ्ना विचार, सिद्धान्त र नीतिहरू हुन्छन्। ‘स्वतन्त्र’ शब्दले जनमतमा भ्रम सिर्जना गर्दै मतदातालाई गुमराहमा राख्ने काम भएको छ।”

साथै सफलले रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ हटाउन पनि माग गरेका छन्। उनका अनुसार, घण्टी हिन्दू धर्ममा पूजा–आराधनामा प्रयोग हुने पवित्र प्रतीक हो, जसलाई राजनीतिक प्रयोगमा ल्याउनु आपत्तिजनक र धर्मनिरपेक्षताको भावना विपरीत हुन्छ

रवि लामिछानेको नेतृत्वमा गठन भएको रास्वपा हाल प्रतिनिधिसभामा चौथो ठूलो दलको रूपमा रहेको छ।