दार्चुला– दार्चुलाको व्याँस नगरपालिका–२, तल्लो दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी तुइनमार्फत महाकाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार, नारायण बुढाथोकी नेपालतर्फको दुम्लिङबाट भारततर्फको घर्माधारतर्फ अवैध रूपमा तुइन प्रयोग गरी नदी पार गर्दै गर्दा अचानक खसेका हुन्।
घटनाका बेला नारायणसँग अन्य दुई जना स्थानीय युवाहरू पनि थिए। तीमध्ये दुई जना सकुशल छन् भने नारायण नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटना आज दिउँसो करिब १२ बजे भएको हो।
प्रहरीका अनुसार यो तुइन नक्साबाट बाहिरको सीमाक्षेत्रमा अवैध रूपमा प्रयोग हुँदै आएको थियो। बेपत्ता युवकको खोजीका लागि जिल्ला प्रहरी कार्यालयले मातहतका गस्ती टोलीहरूलाई परिचालन गरिसकेको छ।
घटनास्थल जिल्ला सदरमुकाम खलङ्गाबाट उत्तरतर्फ पर्छ। अहिले घटनास्थलमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू खोजी कार्यमा संलग्न छन्।