झापा — झापाको शिवसताक्षी नगरपालिका–९ मा दुई किशोरको शंकास्पद मृत्यु भएको छ। मृतकमध्ये १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीहरूले कुटपिट गरेका कारण ज्यान गएको भन्दै उजुरी परेपछि घटना सार्वजनिक भएको हो।
एक साता अघि, असार ११ गते साथीसँगको झगडाका क्रममा थापा र तामाङ घाइते भएका थिए। तर, उनीहरूले घटना घरपरिवारलाई बताएका थिएनन्। घाइते दुबैजनाको उपचारको क्रममा रोमन थापाको शनिबार र आदित्य तामाङको बुधबार मृत्यु भएको झापा प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार कुटपिटमा संलग्न रहेको आशंकामा १६ वर्षभन्दा कम उमेरका ६ किशोरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी राजन लिम्बूले इलाका प्रहरी कार्यालय झिलझिलेमार्फत उजुरी दर्ता भएपछि अनुसन्धान अघि बढाइएको जानकारी दिए।