
. फिक्कल l इलामको कन्याममा निर्माण भएको चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनका लागि सूर्योदय नगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) बिच सम्झौता भएको छ।
कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको २१ करोड ६७ लाख नौ हजार ५२६ रुपियाँको लगानीमा निर्माण भएको परीक्षण केन्द्र सञ्चालन गर्न नास्टका उपकुलपति दिलीप सुब्बाको उपस्थितिमा नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकाल र सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार प्राविधिक जनशक्ति र आवश्यक उपकरणको व्यवस्थापन गरी नगरको समन्वयमा केन्द्र सञ्चालन गर्न नास्टले दुई वर्षका लागि पहिलो चरणमा जिम्मेवारी लिएको छ।
. सम्झौता अनुसार नास्टले नेपाली चियाको गुणस्तर मापनका लागि आधुनिक प्रयोगशाला (ल्याब) सञ्चालन गर्ने, नेपालको चिया क्षेत्रको अनुसन्धान कार्यमा सहकार्य गर्ने छ। यस्तै नगरपालिकाले स्थानीयस्तरमा चिया उत्पादनका लागि नीति नियम निर्माण गर्ने, ल्याब सञ्चालनका लागि भवन व्यवस्था गर्ने, तीन तहका सरकारको समन्वयमा ल्याब सञ्चालनका लागि उपकरण र बजेटको व्यवस्थापन गर्ने छ।
. त्यस अवसरमा चिया उद्योगी उदय चापागाईंले स्थानीय चिया किसान र व्यवसायीको मागलाई बुझेर केन्द्र सञ्चालन गर्नुपर्नेमा जोड दिए । सूर्योदय टी एसोसिएसनका अध्यक्ष उत्तमकुमार प्रधानले केन्द्र सञ्चालनमा आएपछि नेपाली चियाले उक्त केन्द्रमा गरेको परीक्षणले अन्तर्राष्ट्रिय बजारमा मान्यता पाउनुपर्ने माग राखे ।
. नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालले सम्झौता अनुसार दुई महिनाभित्र ल्याब सञ्चालनमा आउने जानकारी दिनुभयो। उहाँले केन्द्र सञ्चालनका लागि स्थानीय चिया उद्योगीले आम्दानीको केही प्रतिशत रकम केन्द्रको बास्केटमा जम्मा गर्नुपर्ने अनि मात्र पिपिपी मोडलमा केन्द्र सञ्चालन हुने बताए । नास्टका उपकुलपति दिलीप सुब्बाले केन्द्रले प्राविधिक सहयोग बताउँदै केन्द्र सञ्चालनमा आएपछि चियाको गुणस्तर मापन गर्न सकिने जानकारी दिए ।
. सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले नेपालमै पहिलो पटक निर्माण भएको चिया परीक्षण केन्द्र निर्माण भए पनि उपकरण र प्राविधिक जनशक्तिका लागि नास्टको सहयोगमा मात्र सञ्चालनमा आउने भएकाले यो सम्झौता गरेको जानकारी दिए ।
. उनले चियाको परीक्षण, चियाको जात परीक्षण र गुणस्तर मापन केन्द्रबाट हुन सके नेपाली चिया विश्व बजारमा प्रतिस्पर्धात्मक बन्ने बताउँछन।