मुस्ताङ :उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ स्थित नेपाल–चीनबीचको २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकामा भन्सार कार्यालय स्थापना नहुँदा राज्यले दैनिक लाखौं राजस्व गुमाउँदै आएको छ । एक वर्षदेखि औपचारिक रूपमा खुला गरिएको कोरला नाकामा नेपालतर्फ भन्सार कार्यालय र राजस्व संकलन प्रणाली स्थापना नभएकाले चीनबाट व्यापारीले दैनिक कोरला नाका हुँदै भन्सार प्रज्ञापनपत्र, बिलबिजकबिनाका करोडौंका सामान नेपाल ल्याउने गरेका  छन ।

हालै जिल्ला प्रहरी मुस्ताङको टोलीले जोमसोममा एउटा मालवाहक ट्रकबाट ल्याउँदै गरेको भन्सार प्रज्ञापनपत्र बिलबिजकबिनाका ६ करोडभन्दा बढी मूल्यका अवैध सामान बरामद भएसँगै कोरला नाकाबाट निर्बाध रूपमा अवैध ओसारपसार भइरहेको खुलेको हो ।

OM Sai Pathibhara Hospital

‘कोरला नाकामा नेपाली भन्सार कार्यालय र कर्मचारी छैनन् । भन्सार कार्यालयको सिस्टम कोरला नाका नपुर्‍याएसम्म अवैध सामान आउने क्रम रोकिने सम्भावना कम छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले भने , ‘कोरला नाकाको भन्सार समस्याबारे मैले गृह, अर्थ मन्त्रालयदेखि राजस्व विभागसहितका सरोकारवाला निकायमा बारम्बार जानकारी गराएको छु ।’

व्यापारीले राजस्व तिर्छु भन्दा पनि बुझ्ने निकाय नै नहुँदा समस्या भएको भुसालले बताउनुभयो । ‘नाका खोलेपछि सामग्री त आउँछन्, हामी छिटो अपडेट हुन आवश्यक छ,’ उहाँले भन्नुभयो । कोरला नाकामै रहनुपर्ने भन्सार कार्यालय १९ किमि वर नेचुङस्थित सशस्त्र प्रहरीको बीओपीभित्र भन्सार कार्यालयको बोर्ड राखिएको भए पनि कर्मचारी भने सदरमुकाम जोमसोममै बस्छन् । नेचुङको भन्सार कार्यालय एक स्थानीय कुरुवाको भरमा छोडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले गत कात्तिक १४ ( अक्टूबर ३०)मा कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटन गरेका थिए । अध्यागमन कार्यालयले कोरला नाकाबाट वारपार हुने व्यक्तिको नियमन मात्र गर्ने भएकाले आयात–निर्यात हुने वस्तुको क्वारेन्टिन, बिलबिजकसम्बन्धी निकाय भन्सार कार्यालय नहुँदा राजस्व गुम्दै आएको हो ।

मुस्ताङ प्रहरीले गत शुक्रबार लु १ ख ६९९९ नम्बरको ट्रकमा ल्याएको ठूलो परिणामको विद्युतीय चुरोट (भेप) सहित ६ करोड ८० लाखभन्दा बढी मूल्यका अवैध सामग्री जोमसोमबाट जफत गरेपछि तस्करहरूले कोरला नाकामा नेपाली भन्सार कर्मचारीको शून्य उपस्थितिको लाभ उठाइरहेको खुलेको हो ।

अहिले लोमन्थाङस्थित भन्सार कार्यालय बन्द छ । कोरला नाकाबाट निर्बाध सामान ओसारपसार भइरहेको छ । कोरला नाकाबाट जोमसोम हुँदै बेनी–पोखरातर्फ लैजान लागिएको भन्सार प्रज्ञापनपत्र तथा बिलबिजकबिनाका १९ हजार थान विद्युतीय चुरोट, लत्ताकपडा, पेयपदार्थ र किराना सामग्रीसमेत गरी १८ प्रकारका वस्तु बरामद गरिएको मुस्ताङका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर सागर पौडेलले जनाए ।

मुस्ताङ प्रहरीले अवैध सामान ढुवानी गराउन प्रयोग गरिएको ट्रकसहित तनहुँको म्यादे गाउँपालिका–५ का ३६ वर्षीय चालक विष्णु थापा, लोमन्थाङ–३ फुवाका टसी आङया गुरुङ र लोमन्थाङका ट्रकधनी ध्याचो गुरुङलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभाग, काठमाडण्डू पठाएको छ ।

बरामद गरिएका अवैध वस्तुमा लेमन लाइन आइस भेप १ हजार ९ सय थान (९५ ठूलो कार्टुन), चिनियाँ ब्रान्डी, टिस्यु, चाइनिज बख्खु टोपीसहितका कपडा, जुत्ता, मिठाई, कफी, बिस्कुट, बिफ, ह्विस्की, घिउलगायत सामान छन् ।

गृहमन्त्री लेखकले गत कात्तिक १४ मा बिहान हेलिकोप्टरमा कोरला नाका पुगेर नवनिर्मित अध्यागमन कार्यालय उद्घाटन गरेका थिए । अहिले कोरलास्थित अध्यागमन कार्यालयमा एक कम्प्युटर अपरेटर र कार्यालय सहयोगी मात्र रहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

समुद्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरोला नाकाको औपचारिक उद्घाटन २०८० कात्तिक २७(२०२१नवंबर १२)मा चीनको सिगात्से प्रान्तको झोम्बा काउन्ट्रीका मेजेस्ट्री नुर्बु छिरिङ र मुस्ताङका तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले गरेका थिए । स्थानीयले यहाँबाट तिब्बत पुगेर दैनिक उपभोग्य वस्तु र केहीले व्यापारका लागि पनि सामान ल्याउने गरेका छन् ।