ललितपुर— ललितपुर महानगरपालिका–१६, धौंगल क्षेत्रबाट ५० किलोभन्दा बढी चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बलका अनुसार पूर्वी चम्पारण, घोरसहन घर भई हाल नेपालमा बसोबास गर्दै आएका ३१ वर्षीय अभिशेख शेखलाई विशेष सूचनाको आधारमा आज दिउँसो नियन्त्रणमा लिइएको हो।
भारतबाट अवैध रूपमा चाँदी भित्र्याई नेपालमै विभिन्न प्रकारका गरगहना बनाएर बिक्री वितरण गरिँदै आएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।
शेखको साथबाट ५० किलो ७४ ग्राम चाँदीका गरगहना बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।