हुम्ला  ।    सोमबार रातिदेखि हुम्लामा हिमपात भएको छ । जिल्ला सदरमुकाम सिमिकोटमा दुई इञ्चसम्म हिउँ जमेको छ । उत्तरी नाम्खा गाउँपालिकासहित एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या भएको छ ।

हुम्लामा मात्रै होइन, पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा मौसम बदली भएर चिसो बढेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना छ ।सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै पूर्वतिर फैलिँदै गरेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

OM Sai Pathibhara Hospital

महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कर्णाली प्रदेशमा पनि फैलिने बताए । पूर्व सर्दै जाँदा प्रणाली केही कमजोर हुनेछ ।

आज राति उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा वर्षा हुनसक्ने सम्भावना छ ।महाशाखाले सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ ।