विराटनगर । मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघिय संसदको सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको छ । बिहीबार सरकारी वकिलको कार्यालयले सांसद पत्नी कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो । सहकारी ऐन २०७४ को दफा १२२ अनुसार २६ जनालाई प्रतिवादी बनाएको हो ।
सहकारीका वर्तमान अध्यक्ष धनपालथान–४ घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह, सञ्चालक समिति सदस्य जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर, लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलगायत २६ जनालाई प्रतिवादी बनाइएको छ ।
सांसद पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् ।
कार्यकर्ताले खोलेको सहकारीको सञ्चालकमा पोखरेलले नै पत्नीको नाम राखेका थिए । शिक्षण पेशामा रहेकी कोइराला सहकारीको कामकाजका बारेमा जानकार थिइनन् । सांसद पोखरेलको सल्लाहमा रौनियारले सहकारी सञ्चालन गर्ने गरेको उनी निकट स्रोत बताउँछ । तर पोखरेलले भने आफ्नी पत्नीलाई अध्यक्ष रौनियारले फसाएको दाबी गर्दै आएका छन्।
सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो ।
उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।